वीरगन्ज,५ माघ : नेकपा एमालेले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।एमाले पर्सा क्षेत्र नम्बर १ बाट जसपा नेपाल परित्याग गरेर आइतबार रातिमात्रै एमालेमा प्रवेश गरेका पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएको छ । यादव, ओली निवास गुण्डुमा आइतबार रातिमात्रै पुगेर एमालेमा प्रवेश गरेका हुन् । जसपा नेपालले टिकट नदिने निधो भएपछि यादव एमालेमा प्रवेश गरेर टिकट लिन सफल भएका हुन् । यादव, २०७४ र २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाटै उपेन्द्र यादवको पार्टीबाट लगातार दुई पटक सांसदमा निर्वाचित भएका थिए ।
यस्तै एमाले पर्सा क्षेत्र नम्बर २ बाट नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २९ निवासी रिमा यादवलाई एमालले पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको हो ।सकृय राजनीतिमा नरहेकी यादव,एमालेका स्थानीय नेता प्रधुमन यादवकी पत्नि हुन् ।
यसैगरि एमालेले पर्सा क्षेत्र नम्बर ३ बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री प्रमोद जयसवाललाई उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा जसपा नेपालले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिई प्रदेश सभा सदस्यमा निर्वाचित भएका जयसवाल डेढ वर्ष अघिमात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए ।
पर्सा क्षेत्र नम्बर ४ बाट भने एमालेले जालिम मियाँलाई पुन दोहोर्याएको छ । २०७९ को निर्वाचनमा पनि एमालेको उम्मेदवार बनेका जालिम कांग्रेसका रमेश रिजालसंग ५ हजार मतान्तरले पराजित हुन पुगेका थिए । त्यसअघि उनि २०७४ को निर्वाचनमा जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

