काठमाडौं,९बैशाखः राष्ट्रिय परीक्षा बोर्डले यहि बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी उनले दिए ।
शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।
तर मंगलबार बिहान बसेको परीक्षा बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरेका छन् ।

