बारा,५बैशाख: प्रहरीले बिहीबार राति बाराकाे सिमराबाट तीन सय किलोग्राम गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जको संयुक्त टोलीले जीतपुरसिमरा उपमहानगरपालिका -३ स्थित बजनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
मिनिट्रकमा अवैधरुपमा लागूऔषध गाँजा ढुवानी गरि लगिरहेको अवस्थामा प्रहरीले मकवानपुर कैलाश गाउँपालिका ४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका ३ का ३३ वर्षीय ईश्वर लोप्चन र मोटरसाइकल चालक कैलाश गाउँपालिका १० का २७ वर्षीय जीवन थोकरलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये लामा र लोप्चन ट्रकमा सवार थिए भने थोकर मोटरसाइकलमा सवार थिए ।
हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख २५०४ नम्बरको मिनिट्रकमा गाँजा राखेर ना३३प ७४६९ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्दै लगिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिनिट्रकबाट प्लास्टिकमा बेरिएको १६ वटा ठूलो र तीन वटा सानो प्याकेट गरि करिब तीन सय किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
यसैगरी प्रहरीले बाराकै पचरौता नगरपालिका–१ बाट ६० किलो गाँजासहित भारतकाे मोतिहारीका २५ वर्षीय राजबिहारी कुमार र दुई किलो गाँजासहित प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

