
प्रमोद यादव
पर्सा,४बैशाखः शिक्षकहरुको आन्दोलनका कारण पर्सा जिल्लामा पनि सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । हरेक वर्ष बैशाखमहिना सुरु भएलगत्तै नयाँ शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयहरुलाई लक्षित गरेर सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।
तर देशभरका शिक्षकहरु काठमाडौंमा विगत १६ दिनदेखि आन्दोलनरत रहेका कारण पर्सा जिल्लामा यसवर्ष विद्यार्थी अभियान नै सुरु हुन सकेको छैन भने सामुदायिक विद्यालयहरुमा पठनपाठनपनि ठप्प छ ।
पर्सा जिल्लामा हाल ३६७ सामुदायिक र १५० संस्थागत विद्यालय गरी जम्मा ५१७ वटा विद्यालय सञ्चालनमा छन् । सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरू गर्ने निर्णय गरे पनि शिक्षक आन्दोलनका कारण व्दिार्थी भर्ना अभियान प्रभावित भएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साका समन्वय विकास अधिकारी हरि राउतका अनुसार शिक्षकहरुको आन्दोलनकै कारण बुधबार आयोजना हुने भनिएको कक्षा १२ को परीक्षाका लागि केन्द्राध्यक्षहरूको अन्तक्र्रिया कार्यक्रम स्थगित भयो । उनले बैशाख २ देखि नै सञ्चालन हुनुपर्ने विद्यालय भर्ना अभियान पनि प्रभावित भएको बताए ।
सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक खरीदका लागि आवश्यक रकम विद्यालयको खातामा जम्मा भइसकेको छ । तर विद्यालय बन्द भएकाले विद्यार्थीलाई नयाँ किताब वितरण गरी विद्यालयमा स्वागत कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।
वीरगन्ज महानगरपालिका बाहेक पर्सा जिल्लाका अन्य पालिकाहरूमा कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजापनि अझै सार्वजनिक गरिएको छैन । शिक्षा विकास एकाइले पनि यसबारे जानकारी नभएको जनाएको छ । यसैगरी, सामुदायिक विद्यालयहरूले प्रकाशन गर्नुपर्ने वार्षिक परीक्षाफल पनि प्रकाशित हुन सकेको छैन । शिक्षकहरू दुई साता बढीदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेका र उनीहरू यसपटक आन्दोलनलाई निर्णायक बनाएरै फर्कने अठोटमा रहेकाले शैक्षिक क्षेत्रबाट दिइने सेवाहरू ठप्प छन् ।
पटेर्वासुगौली गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण चौधरीले शिक्षकको माग सम्बोधन गरी तत्काल शैक्षिक वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् । उनले शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा रहेकाले विद्यालयहरू बन्द भएर वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कार्य हुन नसकेको बताए ।
पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा रहेका सामुदायिक विद्यालयहरूले अहिले सूचना जारी गर्दै वार्षिक परीक्षाफल र विद्यार्थी भर्ना अभियानका साथै विद्यालय सञ्चालन कार्य अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको सूचना प्रकाशन गर्दै आएका छन् ।