Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा कर्फु यथावत,दोषीलाई कारबाही र मदरशासहितका धार्मिक संस्थामा अनुगमन गर्ने सहमति

वीरगन्ज,३१चैत :वीरगन्जमा दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिबारदेखि जारी तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर भएको दुई पक्षीय,सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने , अन्तर धार्मिक÷साम्रपलायिक सदभाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारबाहीको प्रकृयामा सहयोग पुरयाउने सहमति भएको छ ।

यस्तै शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने,तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने,वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक सम्बन्धि कुनैपनि जात्रा,पर्व , कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमतिपनि भएको छ ।
यसैगरि वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरशा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुदाँप्रति जिल्लामा सकृय सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेको अर्यालले बताए ।

प्रजिअ अर्यालले शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फु भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताए । त्यसपछिका लागि भने जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने उनले बताए । उनले भने,‘ राति १२ बजेपछि भने कर्फु हटाएर केहि निश्चित क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने सम्भावना छ ।’

अर्यालले शनिबारको घटनामा सिथ्ती नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको जानकारी दिदैं घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएको बताए ।

शनिबार हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो । बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो , काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरिएको थियो ।त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरिएको थियो ।

 

Related posts

वीरगन्जमा ‘गौरैया बचाउ अभियान’ सुरु

MadhesKhabar

वीरगन्ज पिपराका युवा पटेलद्धारा मानव सेवा आश्रमलाइ नगद ५० हजार सहयोग

MadhesKhabar

पर्साकाे झबराहामा रहेका रक्सी भठ्ठीहरुमा पुग्न थाल्याे प्रहरीको नजर

MadhesKhabar

Leave a Comment