वीरगन्ज,२९ चैत : खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् ।
शुक्रबार वीरगन्जस्थित ओम नेशनल एकेडेमीमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका सम्वाहक भएको बताए ।उनले भने, “विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । विद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका सम्वाहक पनि हुन् ।”
उनले थपे,“म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै विद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला ।”
फरक प्रसङ्गमा बोल्दैै मन्त्री यादवले अब वीरगन्जबासीका घरघरमा पाइपमार्फत निःशुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए । मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एशियन विकास बैंकको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बबताए ।
उनले भने, “जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । चाडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ ।”
मन्त्री यादवले अबका दिनमा सिङ्गो वीरगन्ज महानगरभर निःशुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता समेत जनाए ।अब चाँडै वीरगन्जबासीले चापाकलको भर पर्नु नपर्ने र प्रत्यक नागरिकलाई पाइपमार्फत निःशुल्क र सुरक्षित पानी आपूर्ति गरिने उनले बताए।
ढल व्यवस्थापनका लागि रु डेढ अर्बको बजेट छुट्याइएको र वीरगञ्ज महानगरपालिकाका वडानं. २०, ३०, ३१, नगवा लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।
यसअघि आफु वन तथा वातावरण मन्त्री भएका बेलामा पर्साको रामपुरमा चिडियाखाना निर्माणको काम अगाडि बढाइएको तथा स्वास्थ्य मन्त्री भएको समयमा नारायणी अस्पतालको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया सुरु गरेको जानकारी पनि उनले गराए ।

