Madhes Khabar
स्थानिय हेडलाइन

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,२६चैत:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद बर्णवालसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

कलैया उपमहानगरपालिकाका कर्मचारीहरुले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा सागर वी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश साहसँगको मिलोमतोमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सहसचिव राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी २०७७ मंसिर १९ को टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वाभाविक मूल्य प्रतिप्याकेट ७९ रुपैयाँ एक पैसा कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको पाइएको छ ।

साथै राष्ट्रसेवकसँगको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्मको बोलपत्र पेश गरेर प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा त्यसै कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएको छ ।

पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेट ५४ रुपैयाँका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० भन्दा बढी भुक्तानी बढी गरेको भन्दै उपमहानगरपालिकामा कार्यरत ४ जना कर्मचारीलाई ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ ।

साथै सागरदेवी फर्मा हेटौंडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश साहले कर्मचारीसँगको मिलोमतोमा सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट ५४ रुपैयाँको दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी लिएको भन्दै उनीहरुलाई त्यही बराबरको रकम बिगो कायम गरी मुख्य कसुरदारसरहकै सजाय मागदाबी गरिएको छ ।

Related posts

प्रदेश सभा सदस्य पटेल भन्छन् : नारायणी अस्पतालको दुर्गती देखेर त्यहाँ जानै मन लाग्दैन

MadhesKhabar

सिर्सिया नदिमा फाेहाेर पानी मिसाउने उद्योगलाई कारबाही गर्ने निर्णय

MadhesKhabar

वीरगन्जमा दसैंका लागि मात्र लगाइयाे सस्तो बजार

MadhesKhabar

Leave a Comment