वीरगन्ज,२६चैत: १७ वर्षदेखि फरार एकजना पुजारी अभियुक्तलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
१७ वर्षअघि पर्साकाे विन्दवासिनीमा भएको हत्यामा संलग्न भइ फरार रहेका पुजारी अभियुक्तलाई नेपाल प्रहरीको सिआइबी टाेलीले पर्साबाट पक्राउ गरेको हाे ।
सिआइबीको टोलीले विन्दबासिनी गाउँपालिका– २ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई साधुको भेषमा पक्राउ गरेको जनाएको छ ।
तेदीलाई सोमबार पक्राउ गरिएको सिआइबीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ । प्रहरीका अनुसार उनी पक्राउ पर्दा पुजारीका रुपमा भेटिएका हुन ।
२०६४ बैशाख २५ गते पर्साको साविक बहुअर्वाभाडा– ५ बस्ने ढोडा मुखिया विनको हत्याको अभियोगमा अदालतले तेलीविरुद्ध सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको थियो ।
त्यसबेलादेखि उनी फरार रहेको पाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार जग्गाको विवादमा विनलाई छलफलमा बोलाएर गोली हानी हत्या गरिएको थियो ।
फरार तेली भारत बिहारको पश्चिम चम्पारण पिपरिया गाँउमा रहेको रामजानकारी मन्दिरमा पुजारीको रूपमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि तेलीलाई जिल्ला अदालत पर्सा पेस गरिएपछि उनलाइ कारागार चलानसमेत गरिएको छ ।

