वीरगन्ज,२४चैतः आयोजक नवजनजागृति युवा क्लब , बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा शनिबारराति भएको खेलमा एन्फा मकवानपुरलाई १–० गोलले पराजित गर्दै आयोजक सिमराले अन्तिम चारमा स्थान पक्का गरेको हो । आयोजक सिमराका लागि खेलको ८५ औं मिनेटमा मोहित गुरुङले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
पहिलो हाफमा मकवानपुरले आयोजकविरुद्ध शुरुवाती अग्रताबनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले डिबक्स भित्रै बनाएको आकर्षक अवसरलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार फितलो बन्दा सिमराका गोल रक्षक युनेश चौधरीले बचाउ गरे ।
खेलको १६ औं मिनटमा मकवानपुरले अर्को अवसर गुमाएको थियो । अनिश महर्जनको क्रसमा अभिषेक लामाको हेडर सिमराका डिफेण्डर सिशस थापाले गोललाइनबाट क्लिएर गरे ।
खेलको १८ औं मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोलरक्षक टोपबहादुर रानामगरले बचाए । साइरब तामाङ्गको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए ।
खेलको ग्रिन इनर्जी म्यानअफ दि म्याच आयोजक सिमराका मोहित गुरुङ घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे । उनलाई ओमनीमोटर्सका दिलिपहमाल र ग्रिनइनर्जीका शैलेश साहले ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगितामा आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीत प्रतिस्पर्धा हुदैछ । ८ टिम सहभागि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

