
वीरगन्ज,१९चैतःतीन दशकअघिसम्म वीरगन्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उनी कहिल्यै विचलित भएनन्।
एक न एक दिन त वीरगन्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित आफ्नो यात्रामा निरन्तर डटेर लागिरहे। जसको परिणामस्वरुप अहिले सम्भवतः वीरगन्जकै सबैभन्दा धेरै चिया बिक्री गर्ने चर्चित ‘बब्लु टी स्टल’का सञ्चालकका रुपमा नयाँ परिचय कमाएका छन्। सुरुआती दिनमा उनलाई चिया बेच्न सहज भने पक्कै थिएन ।
“३० वर्षअघि त शनिबारका दिन वीरगन्जका सबैजसो बजार ठप्प जस्तै हुने गथ्र्यो । आफैँले एक प्याकेट दूधको चिया बनाएर केट्लीमा वीरगन्जका टोलटोलमा बेच्न गएर ग्राहकलाई लोभ्याउनुपर्ने हुन्थ्यो,” शर्माले विगत कोट्याउँदै भने।, “त्यतिबेला ग्राहकलाई आकर्षित गर्नकै लागि बिहान ४ बजेदेखि चियापसल खोलेर ग्राहकको चियाको तलतल मेट्ने काममा भने निरन्तर रुपमा लागिरहेँ । जसको कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु भुतुक्कै हुन्छन् ।”
शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगन्जको घडीअर्वा पोखरीको भन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टल’ सञ्चालन गर्दै आइरहेका छन्। शर्माले अहिले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्दै आइरहेका छन्। अहिले शर्माको चियापसलमा दैनिक ८०० देखि एक हजार कपको औसतमा चिया बिक्री हुने गर्छ । “सुरु–सुरुमा त डेढ रुपैयाँ कप चिया पनि बेचियो,” उनले भने, “समयको अन्तरालसँगै अहिले चियाको मूल्य भने धेरै नै बढिसक्यो ।” अहिले पनि ‘बब्लु टी स्टल’मा चिया खाने ग्राहकको सङ्ख्यामा कुनै कमी आएको छैन । शर्मा नेपाल आफ्नो कर्मभूमि भएको बताउँछन्।
“भारतको राजस्थान राज्य मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो,” उनले विगत सम्झँदै भने, “कामको सिलसिलामा ५५ वर्षअघि भारतको राजस्थानबाट वीरगन्जमा आएको हुँ । सुरुवाती चरणमा त वीरगन्जको महावीर गल्लीमा विभिन्न पसलमा समेत काम गरेँ । त्यसबाट खासै सन्तुष्टि नलागेर चिया पसल खोलेको हुँ ।”
सञ्चालक शर्मा आफैँ पनि वीरगन्जको अन्य ठाउँको तुलनामा आफ्नो चियाको गुणस्तर र स्वाद राम्रो हुने गरेकाले मूल्य पनि महङ्गो रहेको स्वीकार्छन। सामान्यतया वीरगन्जका बजारमा एक सानो कप चियाको मूल्य २० रुपैयाँ पर्ने गर्छ । तर, यहाँ भने एक कप मट्का चियाको मूल्य ३५ रुपैयाँ छ । गुणस्तरीय चियाका कारण ग्राहकले महङ्गो भयो भनेर गुनासो गरेको उनले सुन्नु परेको छैन ।
“वीरगन्जको अन्य ठाउँका चिया पसलको तुलनामा हाम्रो चिया महङ्गो नै छ । हाम्रो चिया ‘बढिया’ भएकाले पनि धेरै मूल्य परेको हो,” उनले भने, “हामीले सकेसम्म कृषकको घरबाट सोझै भैँसीको शुद्ध दूध ल्याएर चिया पकाउने गर्छौं । किसानलाई दूधको उचित मूल्य दिएकै कारणले पनि चियाको मूल्य बढी पर्ने गरेको हो ।”
उनले देहातबाट औसतमा १०० देखि ११० रुपैयाँ प्रतिलिटरमा भैँसीको दूध खरिद गर्दै आइरहेको दाबी गरे। उनले आफूले प्रयोग गर्ने चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउने गरेको बताए। “हामीले चियापत्ती एक पटक मात्रै प्रयोग गर्ने गर्छौं । दोस्रो पटक त्यो चियापत्तीको प्रयोग गर्दैनौँ,” उनले भने, “आसामबाट ल्याएको चियापत्ती र देहातको भैँसीको शुद्ध दूधका कारणले पनि चियाको चुस्की राम्रो भएको होला कि !”
शर्मा आफैँ वीरगन्जमा मट्का चियाको सुरुवातकर्ता नभएको बताउँछन्। हामीले भन्दा पहिले अरूले नै मट्का चिया बेच्दै आइरहेका थिए। तर अरूले मट्का चिया पसललाई निरन्तरता दिन सकेनन् । “मट्कावाला चियाको स्वाद नै अर्कै हुन्छ । माटोका भाँडाको स्वादले पनि ग्राहक लोभिँदै आइरहनुभएको छ,” उनले भने, “हातले नै बनाएका मट्काको प्रयोग गर्ने भएकाले पनि स्वादमा ठूलो अर्थ राख्नेरैछ ।”
उमेरले ७९ वसन्त पार गरेपनि शर्माको जाँगरमा भने अहिलेसम्म पनि कमी भएको छैन । अहिले पनि बिहान ४ बजे नै उठेर चिया पसल खोल्न र बिहान साढे ६ बजेसम्म आफैँ चिया पकाएर ग्राहकलाई चिया पिलाउँदै आइरहेका छन्। शर्माका तीन छोरा छन्– सनोदकुमार शर्मा, योगेशकुमार शर्मा र बब्लु शर्मा । बब्लु र अर्का एक छोराले चियापसलमा सहयोग गर्दै आइरहेका छन् भने अर्को छोरा जागिरे छन् ।
“बुबाले थालेको चियापसललाई हामीले निरन्तरता दिँदै आइरहेका छौँ,” कान्छा छोरा बब्लुले भने, “दैनिक औसतमा ३० हजारभन्दा बढी मूल्यको चियाको बिक्री हुने गर्दछ । स्वादिलो चिया बनाउने भएकाले एक लिटर दूधले औसतमा करिब १० कप चिया मात्रै बन्ने गर्छ ।”
‘बब्लु टी स्टाल’ मा एकाबिहानैदेखि बेलुकासम्म ग्राहकको भीड थेगिनसक्नु हुने गर्छ । यसका मुख्य ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार प्रशासकहरु र सर्वसाधारण उत्तिकै रहेका छन् । यसका अलावा वीरगन्जमा घुम्न आएका चियापारखीले पनि खोजी–खोजी ‘बब्लु टी स्टाल’मा चिया पिउनका लागि आउने गर्छन् ।
गत चैत ८ गते शर्माकै चियापसलमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी केन्द्रका शीर्षनेताहरु आएर पनि चिया पिउँदा निकै प्रफुल्लित भएको प्रतिक्रिया दिए। उनलाई त्यो अवसर भने जनतासँग माओवादी–हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान अन्तर्गतको कार्यक्रमले जुराइदिएको थियो । “नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा पक्कै पनि खुसीको महसुस गरिरहेका छौँ,” शर्माले भने, “उहाँहरु जस्तो शीर्षनेता हाम्रो झुपडीमा आएर चिया पिउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।”
शर्माले वीरगन्जमा आउने उच्चपदस्थ कर्मचारी तथा राजनीतिज्ञहरुले आफूले पकाएको चिया पिउँदै आइरहे पनि को को आउनुभयो भनेर रेकर्ड राख्ने नगरेको अनुभव सुनाए। शर्माले आफूले चिया बेचेर नै आफ्नो परिवारका सबै सदस्यलाई खुसीसाथ जीवनयापन गर्न सहज भएको बताउँछन्। हिमाल लम्साल/रासस

