वीरगन्ज ,१४असाेज: खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्नुकाे सट्टा उल्टै सरकारले दैनिक उपभाेग्य वस्तु ग्यास, पेट्रोल र डिजेलमा अस्वभाविक मुल्यवृद्धि गरेर आम जनताकाे ढाड सेक्ने काम गरेकाे भन्दै चर्काे आलोचना गरेका छन् ।
विपक्षी र सत्तारुढ दलकै भातृ संगठनका नेताहरुले पनि सरकारकाे विराेध गरेका छन् । समाजिक सञ्जालमा उनिहरुले सरकार विराेधी स्टाटस लेखेर इन्धनमा गरिएको मुल्य वृद्धि फिर्ता नगरिए सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिइरहेका छन् ।
शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । ग्यासकाे मुल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

