वीरगन्ज,८चैतःघरपरिवारबाट ७ बर्षदेखि सम्पर्कविहिन भई सडकमा बेवारिसे अवस्थामा भेटिएकी एक भारतीय महिलालाई मानव सेवा आश्रमले उनको परिवारजनसंग पारिवारिक पुर्नमिलन गराएको छ ।
भारतको मध्यप्रदेश राज्यको पन्वासा खचरोड घर भएकी अन्दाजी ५० बर्षिया महिला २०८० साल असार १ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नम्बर २ किउल बजारमा बेवारिसे अवस्थामा फेला परेकी थिइन् । आफनो नाम करला र घर भारतमा बताउने ती बिरामी अवस्थाकी महिलालाई ईलाका प्रहरी कार्यालय हेलम्बुले सडकबाट उद्धार गरेर काठमार्डौंको मानव सेवा आश्रममा पठाएको थियो । त्यसको केहि समयपछि ती महिलालाई वीरगन्जस्थित मानव सेवा आश्रमममा स्थानान्तरण गरेर ल्याइएको थियो ।
तीन दिन पहिले मानव सेवा आश्रम वीरगन्ज शाखाको फेसबुक पेजमा ती महिलाको भिडियो पोष्ट गरिएको थियो । त्यहि फेसबुकको भिडियो हेरेर भारतबाट ती महिलाका छोरा लन सिंह बिहीबार वीरगन्जस्थित मानव सेवा आश्रममा आएको र उनले आफनी आमालाई महिलालाई भारतस्थित आफ्नो घरमा लिएर गएको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
मानव सेवा आश्रमको फेसबुक पेजमा राखिएको ती महिलाको भिडियो धेरै जनाले शेयर गरिदिएकै कारण उनको घर पत्ता लाग्न सकेको र परिवारजनसंग पुर्नमिलन गराएर उनको घर पठाउन सफल भइएको गुप्ताले बताए ।

