वीरगन्ज,२१जेष्ठः वीरगन्जको नारायणी अस्पतालले दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएको छ ।
सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको अस्पतालका सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए ।
उनका अनुसार, अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना,सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब चार जना , कार्यालय सहयोगी ७ जना लगायतका रहेका छन् ।
अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बेगर नियुक्त भई दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ जना स्वासथ्यकर्मी र कर्मचारीको यहि जेष्ठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निर्णय गरिएको उल्लेख छ ।
अस्पतालका निमित्त मेसु डाक्टर हकले दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको बताए । उनले भने,‘ एक त दरबन्दी बेगर उनिहरु कार्यरत थिए । अर्को कूरा यति धेरै कर्मचारी अस्पताललाई आवश्यक पनि थिएन । उनिहरुलाई ६÷७ महिनादेखि तलब भत्तँपनि अस्पतालले खुवाउन सकिरहेको थिएन । यीसबै कारणले उनिहरुलाई सेवाबाट हटाउनु परेको हो ।
अस्पताल श्रोतका अनुसार,यअिघिका निमित्त मेसु डाक्टर चित्तरन्जन साहको कार्यकालमा दरबन्दी बेगर दैनिक ज्यालादारीमा करिब १५० भन्द्या बढी स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा नियुक्त गरिएको थियो ।

