वीरगन्ज,८चैतःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विरोध गरेर स्ववियुको निर्वाचन मत गणना स्थगित गराएका विभिन्न १० विद्यार्थी संगठनले पुन निर्वाचन गराउन माग गरेका छन् । उनिहरुले अहिलेका क्याम्पस प्रमुख र प्रमुख निर्वाचन अधिकृतको राजिनामा पनि मागेका छन् ।
अनेरास्ववियु,जय नेपाल विद्यार्थी संघ,समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल , सुधिर पटेल समुह,अखिल क्रान्तिकारी,दिलिपराज महतो स्वतन्त्र युनियन,नेपाल विद्यार्थी कल्याण समुह र राष्ट्रिय विद्यार्थी संघले शुक्रबार दिउँसो एक संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसमा पुन स्ववियु निर्वाचन गराउन माग गरेका हुन् ।
यसअघि गत मंगलबार भएको मतदानमा व्यापक धाँधली, फर्जि मतदाताको प्रयोग र निर्वाचन प्रकृया अनियमितता भएको आरोप लगाउँदै उनिहरुले नयाँ प्रकृया सुरु गरेर पुन निर्वाचन गराउन माग गरेका हुन् । साथै अहिलेका क्याम्पस प्रमुख रणजीत यादव र प्रमुख निर्वाचन अधिकृतले राजिनामा दिनु पर्ने माग पनि उनिहरुको छ ।आँफुहरुको मागलाई बवास्ता गरिएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उनिहरुले दिएका छन् ।

