वीरगन्ज,२४माघःपर्सा क्षेत्र नम्बर २ मा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद अमरेसकुमार सिंहको आगमन हुदाँ जसपा, एमाले लगायतका चर्चित युवा नेतासहितका सयौं जना रास्वपामा प्रवेश गरेका छन् ।
वीरगन्ज–१० मा पर्सा–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानुको अध्यक्षता तथा रास्वपा नेता सिंहको प्रमुख आतिथ्यतामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जससपाका केन्द्रिय युवा नेता सुनील कुशवाहा,नेकपा एमालेका मधेस प्रदेश सदस्य रामबाबु सिंह, एमालेका पूर्व विद्यार्थी नेताहरु निरज साह,मनोज साह लगायतकाहरु रास्वपमा प्रवेश गरेका हुन् ।
यस्तै पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका तथा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाबाट नेकपा एमाले, जसपा, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ५ सय बढी युवाहरु उनीहरू रास्वपामा प्रवेश गरेको रास्वपाका युवा नेता लखन गुप्ताले जानकारी दिए ।
कार्यक्रममा सर्लाही–४ का रास्वपा उम्मेदवारसमेत रहेका नेता सिंह र पर्सा–२ का रास्वपा उम्मेदवार कानुले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही–४ का रास्वपा उम्मेदवार आमरेश कुमार सिंहले मधेसको राजनीतिक परिदृश्यमा परिवर्तनको संकेत देखिन थालेको बताए।उनले जनतामा वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वास बढ्दै गएको देखिएको बताए।
सिंहले विगतका परम्परागत दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै भने, “अब जनता सचेत छन्। पुराना राजनीतिक शैली र डर देखाएर राजनीति चल्ने अवस्था छैन।”
उनले युवाहरू रोजगारीको खोजीमा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न देशमै अवसर सिर्जना गर्नु आवश्यक रहेको बताए। बालेन शाह नेतृत्वको सम्भावित सरकार बनेपछि देशमै रोजगारीका अवसर सृजना हुने दाबी गर्दै सिंहले विकास र सुशासनमा नयाँ अभ्यास सुरु हुने विश्वास व्यक्त गरे।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का विपक्षी उम्मेदवारतर्फ संकेत गर्दै सिंहले राजनीतिक नेतृत्वले “पानी, आगो र युवासँग खेलवाड गर्न नहुने” चेतावनी दिए। उनले युवाको शक्ति र जनभावनालाई कमजोर ठान्नेहरू आफैं कमजोर पर्ने उल्लेख गरेका थिए।

