वीरगन्ज,८चैतःनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा (रेसमा) नरहेको स्पष्ट पारेका छन्। नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियान अन्तर्गत प्रचण्ड बिहीबार साँझ वीरगन्ज आइपुगेका छन् । शुक्रबार वीरगन्जमा प्रेस सेन्टर नेपाल र्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे।
उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे।
आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,’सरकारमा हुँदा वा सरकार बाहिर,माओवादी एउटै हो।’
अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथितिलाई प्रोत्साहित गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहितपनि गरेको टिप्पणी गरे।
यसअघि वीरगन्जमै आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगन्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य,शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए।
संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे। त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिनुभयो।

