Madhes Khabar
स्थानिय

वीरगन्ज नर्सिङ क्याम्पसकाे मतगणना अन्याेलमा,क्याम्पस प्रशासनले अनेरास्ववियुलाई जिताउन चलखेल गरेको आराेप

वीरगन्ज,६चैत:वीरगन्ज नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनको मतगणना अन्याेलमा परेकाे छ।उक्त क्याम्पसमा मंगलबार राति ८ बजेदेखि मतगणना सुरु भएकाे थियाे ।तर गणनामा क्याम्पस प्रशासनले धाँधली गरेको गम्भीर आरोप लागेपछि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

 

बुधबार दिउँसो १ बज्न लाग्दापनि राति स्थगित गरिएको मतगणना अझै सुरु हुन सकेको छैन।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमाथि निर्वाचन प्रक्रियालाई प्रभावित पारेको आरोप लगाउँदै विरोध जनाएपछि राति मतगणना स्थगित गरिएको हाे।

राति मतगणनाको क्रममा क्याम्पस प्रमुख डा. कल्पना पौडेल र निर्वाचन अधिकृत अन्जु कुमारी महतोले अनेरास्ववियुलाई जिताउन बदर मतहरूलाई समेत सदर गरेको भन्दै नेविसंघ र अखिल (क्रान्तिकारी) समुह आक्रोशित बनेको छ ।

विरोधमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरूले मंगलबार राति क्याम्पसको मूल गेट अगाडि नाराबाजी गर्दै प्रदर्शनपनि गरेका थिए । क्याम्पस अगाडि टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरूले मतगणना प्रक्रिया पारदर्शी बनाउन पुनः मतगणनाको माग गरेका थिए भने क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा पनि मागेका छन् ।

 

अखिल (क्रान्तिकारी) का नेता मिरोज अहमदले मतगणनामा व्यापक अनियमितता भएको दाबी गर्दै भने “हामीले मतपत्रहरू जाँच्दा बदर भएका मतहरूलाई जबरजस्ती सदर गरिएको पायौँ । यो क्याम्पस प्रशासनको बदनियतको परिणाम हो । निर्वाचन प्रक्रिया स्वच्छ र पारदर्शी हुनुपर्छ,” ।

 

नेविसंघका पर्सा जिल्ला सभापति रमेश यादवले क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई डर र धम्की देखाएर विरोधको स्वर दबाउन खोजेको आरोप लगाए।

क्याम्पसमा नेविसंघबाट सभापति पदकी उम्मेदवार दियान्सु श्रेष्ठले पनि मतगणनाको पादर्शितामाथि प्रश्न गरिन् । उनले मतगणना स्थलमा रहेका आफ्ना प्रतिनिधिहरूको कुरा निर्वाचन अधिकृत र क्याम्पस प्रमुखले नसुनेको र बदर मतलाई सदर गरेको बताउँदै क्याम्पस प्रमुख एउटा विशेष संगठनलाई जिताउन लागेको आरोप लगाइन्।

यता एमाले निकट अनेरास्ववियुले भने मतगणनामा कुनै अनियमितता नभएको जिकिर गरेको छ।अनेरास्ववियुका नेता आशिफ अहमदले नेविसंघ र अखिल (क्रान्तिकारी) ले हार निश्चित देखेपछि अनावश्यक विवाद खडा गरेको बताए । “मतगणनामा उनीहरू निकै पछाडि परेका छन् । हार स्वीकार गर्न नसकेर विरोधको नाटक गरेका हुन् । अनेरास्ववियुले यसअघि पनि स्ववियुको नेतृत्व गरेको छ र यो पटक पनि गर्छ,” उनले दाबी गरे । पुनः मतगणनाको मागप्रति अनेरास्ववियुले कडा आपत्ति जनाएको छ ।

मंगलबार राति नेविसंघको विरोध प्रदर्शनले उग्र रूप लिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र क्याम्पस पुगेका थिए । विद्यार्थी नेताहरूसँगको छलफलमा बदर मतहरूलाई सदर गरेको प्रमाण फेला परेको अखिल (क्रान्तिकारी) का नेता आसिफ अहमदले बताए । तर, क्याम्पस प्रशासनले यस विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

 

निर्वाचन अधिकृत अन्जु कुमारी महतोसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् । क्याम्पस पुगेका सञ्चारकर्मीहरूलाई समेत द्वारपालले प्रवेश गर्न नदिइएको तथा दुर्व्यवहार समेत गरेको गुनासो छ ।

 

वीरगन्ज नर्सिङ क्याम्पसमा मंगलबार भएको निर्वाचनमा क्याम्पसका २७३ मतदातामध्ये २७२ जनाले मत खसालेका थिए । राति मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुकी आर्जु राय ८६ मतसहित अग्रस्थानमा थिइन् । नेविसंघकी दियान्सु श्रेष्ठ ७८ मतसहित दोस्रो र अखिल (क्रान्तिकारी) की कविता आचार्य ५२ मतसहित तेस्रो स्थानमा थिइन् । बाँकी मतहरूको गणना हुन बाँकी रहँदा नै विवाद चर्किएको हो ।

Related posts

मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई रिहा गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरले बनाइ दिएको पशुपति आदर्श क्लबको भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जमा हैजा समुदायस्तरमै फैलिन थालेपछि विद्यालय २ दिनका लागि बन्द,२५ वटा टोली परिचालन

MadhesKhabar

Leave a Comment