Madhes Khabar
समाज

ठोरीमा युवाहरूको उदाहरणीय कार्यः होली उत्सवको रकम विद्यालय सुधारमा खर्च

वीरगन्ज,२९फागुनः आज(बिहीबारी) पहाडी क्षेत्रमा फागु पूर्णिमा (होली) धुमधामका साथ मनाइँदै गर्दा पर्साको ठोरीमा केही युवाहरू सामाजिक कार्यमा समर्पित भएका छन् । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरस्थित श्री ज्ञानवाटिका माविको परिसरमा युवा अभियान मधेश प्रदेशको आयोजनामा बिहीबार विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य शंकर चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

युवा अभियान मधेस प्रदेशकी अध्यक्ष गंगा श्रेष्ठले होली पर्वमा अनावश्यक खर्च र अमर्यादित गतिविधि रोक्नुपर्ने भन्दै बचत गरिएको रकम विद्यालयको पर्खाल रंगरोगनमा लगाइएको बताइन् । उनले भनिन्, “हामीले होलीको अवसरमा सकारात्मक सोच राख्दै विद्यालयको वातावरण सुधार्ने अभियान चलाएका हौं । होलीले रंग मात्र होइन, सद्भावको सन्देश पनि दिनुपर्छ ।”

प्रदेश सभा सदस्य शंकर चौधरीले युवाहरूको सामाजिक योगदान प्रशंसनीय रहेको बताए । उनले भने, “युवाहरूले शिक्षण संस्थाको विकासका लागि दिएको योगदान उदाहरणीय छ । यस्तो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ ।”

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शिक्षा क्षेत्रमा गरिएको योगदानलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । “शिक्षाको विकासका लागि स्थानीय तहले निरन्तर साथ दिन्छ । युवा अभियानको प्रयास सराहनीय छ,” उनले भने ।

पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले विद्यालयको भौतिक संरचना सुधार्ने यस्तो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै अन्य संस्थाहरूलाई पनि यस्ता सामाजिक कार्यमा सहभागी हुन आह्वान गरिन् ।

कार्यक्रमकै क्रममा साथी नेपाल नामक संस्थाले विद्यालयका पूर्व प्राथमिक तह (बालविकास) कक्षाका विद्यार्थीहरूका लागि खेलकुद सामग्री पनि प्रदान गरेको छ । साथै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवारलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । रश्मी खड्काले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

युवा अभियान सामाजिक कार्यमा युवालाई परिचालन गर्ने तथा युवाको नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने नाफारहित सामाजिक संस्था हो । सातै प्रदेशमा सञ्चालन भइरहेकेको यो अभियानले युवालाई समाज सुधारतर्फ प्रेरित गर्दै सकारात्मक परिवर्तन ल्याउने कार्यमा योगदान पुरÞ्याउँदै आएको अभियानकी मधेस प्रदेश अध्यक्ष श्रेष्ठले बताइन् ।

Related posts

मिटरब्याजी पिडितहरु आन्दोलनको तयारीमा

MadhesKhabar

न्याय माग्दा कुमारी आमा निहारिका माथि फेरि सरकारको ज्यादती

MadhesKhabar

वीरगन्ज हेल्थ केयर हस्पिटलको सहयोगमा अपांगता भएका ४ जनालाई ह्वील चेयर वितरण

MadhesKhabar

Leave a Comment