बारा,२१फागुनःबाराको अमलेखगञ्जमा बुधबार फेरि प्रहरीले लागू औषध अफिमसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नम्बर १ का २७ बर्षिय सुनिल मोक्तान र वडा नम्बर ३ का २० बर्षिय हर्क रुम्बा रहेका छन् ।
उनिहरुलाई २ किलो ४१ ग्राम अफिसहित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको टोलीले बुधबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।
अमलेखञ्जस्थित प्रहरी कार्यालय अगाडि हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकेर प्रहरीले चेकजाँच गर्र्दा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अफिम बरामद गरेको हो ।
मोटरसाइकलबाट अफिम बरामद भएपछि उक्त मोटरसाइकलका चालक मोक्तान र उनिसंगै रहेका रुम्बा दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरक्षिक विजयराज पण्डितले जानकारी दिए ।

