काठमाडौं,१४बैशाखःकाठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार झडप भएको छ । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर शिक्षकहरु अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको र त्यसक्रममा दुबैपक्षबीच झडप भएको हो ।
झडपमा १५ जना शिक्षकहरु घाइते भएको प्रहरीले जनाएको छ । यस्तै एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको जारी आन्दोलनको २६ औं दिन आइतबार शिक्षक र प्रहरीबीच झडप भएको हो ।
शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।शिक्षकहरुले शनिबार नै आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए। आइतबार उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको थियो ।
यसैबिच नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा आइतबार सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।
आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘ ‘ शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ।’
सोमबार (भोलि) थप शिक्षक र कर्मचारी काठमाडौं आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

