वीरगन्ज,१०फागुन:मधेसीलाई अपहेलित गरेको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले वीरगन्जमा चीनकाे विराेधमा प्रदर्शन गरेकाे छ।त्यसक्रममा राष्ट्रिय विद्यार्थी परिषदका नेताकार्यकर्ताले केही समय पहिले चीनकाे दूतावासले वीरगन्जका विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण गरेका चाइनिज साइकलपनि जलाएका छन्।
चिनिया सहयोगको नाममा पुरानो र कमसल गुणस्तरका चाइनिज साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले प्रदर्शन गर्दै चाइनिज साइकल जलाएको हाे।
शनिबार वीरगन्जको प्रतिमा चाेकमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन गर्दै राष्ट्रिय विद्यार्थी परिषदका नेताकार्यकर्ताले `चीनको चलाखी अब चल्दैन ,मधेसीलाई अपहेलीत गर्न पाइदैन´, `मधेसलाई सम्मान चाहिन्छ´,`पुरानो साइकल, नयाँ धोका हो´, `चीन अब हामीलाई मूर्ख नबनाउ´ जस्ता नाराहरूपनि लगाएका थिए ।
विराेध प्रदर्शनमा सहभागी विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल गुणस्तरका साइकल वितरण गरेको अरोप लगाए।प्रदर्शनमा सहभागी एक विद्यार्थी नेताले भने,`हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चीनकाे औपनेविसिकरण चल्दैन,चीनमा फालिएको साइकल मधेसलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?´।
प्रदर्शनकारीहरुले चिनिया सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए ।यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिएमा अझ सशक्त रुपमा चीनकाे विराेध गरिने चेतावनीसमेत उनिहरुले दिए।
एक महिना पहिले वीरगन्ज-१५ मा रहेकाे नृसिंह माविमा अध्ययनरत विद्यार्थीहरुलाई चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपालस्थित कार्यालयले २०० वटा साइकल वितरण गरेको थियो ।

