वीरगन्ज,९फागुनःभैरहवाकी प्रकृति लम्सालको न्यायका लागि वीरगन्जमा शुक्रबार विद्यार्थीहरुले मौन जुलुश प्रदर्शन गरेका छन् ।
भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी विधार्थी प्रकृति लम्साल गत फागुन ४ गते कलेजकै छात्रावासमा मृत भेटिएकी थिइन् । त्यसपछि प्रकृतिको न्यायका लागि माग राखेर आन्दोलनमा उत्रिएका त्यहि कलेजका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै कलेजबाट लेखेटेको थियो ।
त्यहि घटनाको विरोधमा शुक्रबार वीरगन्जका विभिन्न क्याम्पसका विद्याथर्थीहरुले मौन जुलुश प्रदर्शन गरेका हुन् ।शुक्रबार बिहान वीरगन्जको घण्टाघर चोकमा भेला भएका ग्लोबल बिजनेश कलेज र ओम इन्टरनेशनल कलेजका छात्रछात्राहरुले मौन जुलुश निकालेका हुन् । घण्टाघर चोकबाट सुरु भएको मौन जुलुश माईस्थान, आदर्शनगर, नगरपालिका चोक,घडिअर्वा हुदैं पुन घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
मौन जुलुशमा सहभागी ग्लोबल बिजनेश कलेजको कक्षा ११ मा अध्ययनरत छात्रा आश्विनी रौनियारले ओडिसामा मारिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका दोषीलाई कारबाही हुनुपर्ने बताइन् । साथै उक्त घटनापछि कलेजबाट कुटपिट गरेर निकालेका नेपाली विद्यार्थीहरुमाथि ज्यादती गर्ने कलेज प्रशासनलाईपनि कारबाही हुनुपर्ने माग आँफुहरुको रहेको भन्दै उनले त्यहि माग राखेर वीरगन्जमा आँफुहरुले मौन जुलुश निकालेको बताइन् ।

