वीरगन्ज,१४पुसःवीरगन्ज महानगरपालिकाको १९ औं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । धिवेशनबाट यसअघि गएको असोजमा भएको विशेष अधिबेशनमा कटौति गरिएको वडाको २५ प्रतिशत बजेटलाई पुन थप गर्ने प्रस्ताब पारित भएको छ ।
गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनका कारण महानगरपालिकाको कार्यालय रहेको भवनमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुननिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो ।
पुननिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्था समेत जानकारी गराएका थिए । अहिलेसम्म बिनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उनले बताए ।खर्चको प्रतिशत हेर्दा अहिलेसम्म बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ । चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत रहेको मेयर सिंहले जानकारी गराए ।
महानगरपालिकाले यसै आर्थिक वर्षभित्र सुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल संचालनमा ल्याउने लक्ष्य समेत राखेको छ ।
अधिवेशनमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

