वीरगन्ज,३०असारःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ का पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा लेदी (पशुलाई खुवाउने हरियो घाँसपात) काट्ने विद्युतीय मेसिन वितरण गरिएको छ ।
एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा वडा नम्बर २ को पौरखी पशुपालन कृषक समुहका ११ जना पशुपालक किसानहरुलाई विद्युतीय चाप कटर वितरण गरिएको हो ।सोमबार वडाध्यक्ष विजय गैरे र विद्युत उपभोक्ता समिति गादीका अध्यक्ष दलबहादुर रानाको रोहबरमा ती मेसिन पशुपालक किसानहरुलाई वितरण गरिएको हो ।
एडिबीको आर्थिक सहयोगमा विद्युत उपभोक्ता समिति गादी मार्फत वडा नम्बर २ मा सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पशुपालक किसानहरुलाई प्रोत्साहित गर्न विद्युतीय चाप कटर वितरण गरिएको वडाध्यक्ष गैरेले बताए । उक्त कार्यक्रम अन्तर्गत नै अर्को चरणमा किसानहरुलाई विद्युतीय सिंचाइ मोटर र विषादी छर्कने स्प्रे ट्यांकीपनि वितरण गर्ने योजना रहेको उनले सुनाए ।
वडाध्यक्ष गैरेका अनुसार,लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यसअघि वडा नम्बर २ का ििकसान, पशुपालक र उद्यमी गरी ६० जनालाई उद्यम सम्बन्धि तालिम दिइसकिएको र उएक्त तालिम लिएका मध्येकै ११ जना पशुपालकहरुलाई विद्युतीय चाप कटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
वडा नम्बर २ मा पशुपालक किसानहरुको संख्या अअन्य वडा भन्दा बढी रहेको भन्दै वडाध्यक्ष गैरेले गत वर्ष मात्रै वडाका पशुपालक किसानहरुले १ करोड ४ लाख रुपैयाँको दुध बिक्रि गरेको बताए ।

