
क्रान्ति शाह
वीरगन्ज,१८जेठः वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका खैरुद्धिन हवारी धोबी विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
कार्यपालिका सदस्यमै नेकपा एमालेबाट उम्मेदवारी दिएका अजय कुमार गुप्ताले जसपाका उम्मेदवार धोबी विरुद्ध उजुरी दिएका हुन् ।
कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा उम्मेदवारी दिएका धोबी , अल्पसंख्यक कोटा भित्र नपर्ने भएकाले उनको उम्मेदवारी खारेजको माग गर्दै गुप्ताले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीकर्ता गुप्ताले भने ,‘ मुस्लिम जाति अल्पसंख्यक वा दलित कोटा भित्र पर्दैन , त्यसैले धोेबीको उम्मेदवारी खारेजीको माग गर्दै मैले निर्वाचन कार्यालयमा उजुरी दिएको हु ।
प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले पनि एक जना उम्मेदवार विरुद्ध उजुरी परेको जानकारी दिदै यस बारेमा कानुन बमोजिम निर्णय हुने बताए ।
वीरगन्ज महानगरपालिकाको ८ जना कार्यपालिका सदस्य चुन्नका लागि मङगलबार मनोनयन दर्ता गरिएको हो । ५ महिला सदस्य पदका लागि १० जनाको र ३ दलित वा अल्पसंख्यक पदका लागि ६ जनाको गरि कुल १६ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
कार्यपालिका सदस्य चयनका लागि मतदान भने जेठ २० गते शुक्रबार हुनेछ । शुक्रबार हुने मतदानमा नवनिर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र सदस्य गरि १६२ जनाले मतदान गर्नेछन् ।

