माधुरी महताे
वीरगन्ज,२७माघ:जनप्रतिनिधि र आम नागरिकले मधेसका सहर व्यवस्थित र सफा बनाउनु फलामे च्युरा चपाउनुजस्तै बुझ्छन्। जनकपुरधाम, वीरगन्ज, कलैया लगायत सहरमा सरसफाइ ठुलो चुनौतीका रूपमा देखियो। अन्य प्रदेशका सहरमा शिक्षा, स्वास्थ्य तथा अन्य विकास कार्यमा बढी खर्च हुने बजेट मधेसमा भने सरसफाइकै क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता छ।
वीरगन्ज महानगरमा ‘सफा नेपाल’को सरसफाइसम्बन्धी एप्सले अनावश्यवकखर्च व्यवस्थापन मात्र होइन, घरभित्रका गृहिणीहरूलाई पनि जागरुक बनाएको छ। यो एप्सको प्रभावकारिताले वीरगन्जका मुख्य सडकका साथै गल्लीहरूसमेत पहिलेकाे भन्दा अहिले धेरै हदसम्म सफा देखिन्छन्।
वीरगन्जमा पहिले बाटोघाटो तथा सडकमा अव्यवस्थित तरिकाले घरबाट निस्केको फोहोर फालिने गरिन्थ्यो। अहिले फोहोर फाल्ने शैलीमा त पहिलेभन्दा परिवर्तन आएको मात्र होइन, गृहिणी महिला पनि यसप्रति जागरुक भएका छन्।
वीरगन्ज छपकैयाकी सुनिता थापा मोबाइलबाटै घरआसपासका स्थानमा फालिएका फोहोरबारे सम्बन्धित निकायमा समयमै जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको बताउँछिन्।
‘जहाँतहीं फोहोर फालिदिने मान्छेको प्रवृत्ति छ। कम्तीमा आफ्नो वरिवरि सफा हुँदा त हामीलाई नै राम्रो हुने हो नि। हाम्रा बच्चा बाहिर खेल्न निस्किन्छन्। हामी पनि बजार वा कतै जानका लागि निस्किनै पर्यो। निस्किनेबित्तिकै फोहोरको दर्शन हुन्छ,’ उनले भनिन्, ‘पछि सफा नेपालका मान्छे भनेर मेरोमा आए।उनीहरूले मेरो मोबाइलमा त्यो एप राखेर कसरी आफ्नो ठाउँको फोहोर सफा गराउने बताएर गए। मोबाइलबाट फोटो खिचेर पठाएको तीन घण्टाभित्र फोहोर भएको स्थान सफा भइसकेको थियो। म त धेरै खुसी भएँ।’
वीरगन्ज मुर्लीकी सञ्जु देवीले सफा नेपाल भनेर एप मोबाइलमा राखेपछि मोबाइलको दायित्वबोध भएको पहिलो पटक महसुस भएको बताइन्। ‘हाम्रो टोलमा पहिले मान्छेले धेरै फोहोर गर्थे। घरबाट निस्केको फोहोर टोलकै बाटोमा, घरअगाडि कि नालामै फालिदिने गर्थे। जबसम्म नगरपालिकाको फोहोर उठाउने कर्मचारी आउँदैनथे, केही दिनसम्म पनि फोहोर त्यस्तै हुन्थ्यो। अनि धेरै गन्हाउने पनि हुन्थ्यो,’ उनले सुनाइन्, ‘मेरी देउरानीले मोबाइलबाटै फोहोर व्यवस्थापन गर्न सकिनेबारे जानकारी दिइन्। त्यसैगरी हामीले मोबाइलबाटै फोहोर उठाउन लाग्यौं। अहिले हेर्नुस् त, कति सफा छ।’

पहिले भ्रमणका लागि वीरगन्ज आउनुहोस् भन्न पनि लाजै लागेर आउने गरेकोमा हाल बाहिरबाट आउने जोकोहीले पनि वीरगन्ज चिटिक्क परेको देख्दा आश्चर्यचकित हुँदै खुसी व्यक्त गर्ने गरेको बताउँछन् वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह।
`वीरगन्जलाई सफा बनाउने, वैभव वीरगन्ज बनाउने अभियानमा लाग्दा धेरै चुनौती सामना गर्नुपरिरहेको अवस्था छ। म निर्वाचित भएर आउँदा पहिलेको कार्यकालभन्दा बजेट पनि करिब एक अर्ब कम भएर आएको छ। बजेट कम भएका कारण सोचेजस्तो काम गर्न सकिएको छैनजस्तो आभास हुन्छ,’ उनी भन्छन्, ‘तर मनमा एउटा सन्तुष्टिचाहिँ छ कि जुन वीरगन्जको चित्रण मानिसहरूको मानसपटल बसेको थियो, त्यसमा सकारात्मक परिवर्तन गर्न केही हदसम्म सकिएको छ। त्यसको कारण हो– वीरगन्जमा सरसफाइ अभियान र वीरगन्जको सौन्दर्यीकरण।’
केही समय पहिलेसम्म फोहोर गरेकै कारण उद्योग, व्यक्ति, संस्थालाई जरिवाना गरी लाखौं रुपिया उठाइरहेको छ महानगरले ।हाल मानिसहरू एप्समार्फत भए पनि जागरुक हुन थालेका छन्। वीरगन्ज सुन्दर देखिँदै गएको र जरिवाना पनि तिराउन नपरेको नगरप्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन्।

आर्थिक बर्ष २०७९/८० मा १५ लाख ३६ हजार सात सय पाँच रूपैयाँ जरिवाना फोहोर गरेकै कारण तिराउनुपरेको थियो भने आर्थिक बर्ष २०८०/८१ मा १९ लाख ३५ हजार एक सय जरिवाना गरिएको थियो। तर चालु आर्थिक बर्षको हालसम्म ६ लाख ४१ हजार एक सय रूपैयाँ मात्र जरिवाना गर्नुपरेको महानगरको तथ्यांकले देखाउँछ।
महानगरपालिकाअन्तर्गत नाइके ३१ जना र सरसफाइ कर्मचारी १०९ जना रहेका थिए। गत भदौ महिनाको ११ गतेदेखि नाला र सरसफाइसम्बन्धी ठेक्का गरी हाल एके इन्टरनेसनल प्रालिसँग भएको सम्झौताअनुसार कार्य गरिरहेको छ।
सफा नेपाल’ एप्सका कम्प्युटर अपरेटर मोहम्मद अजरुद्दिनका अनुसार ‘सफा नेपाल’ चलाउन सजिलो डिजिटल एप्स हो। उनले फोहोर पठाउने व्यक्तिको नाम र पहिचान गोप्य हुने भएकाले सूचना पठाउने महिलाको सङ्ख्या पनि बढ्दै गएको बताए। उनले महानगरमा करिब २५ हजारभन्दा बढी मानिस एप्समार्फत जोडिएको जानकारी दिए।

