Madhes Khabar
शिक्षा

नयाँ स्वरुपमा कलैयाको श्री ३ चन्द्र माध्यमिक विद्यालय

तस्बीर :सामाजिक सञ्जालबाट

बारा,२४माघःबाराको कलैयास्थित ऐतिहासिक श्री ३ चन्द्र माध्यमिक विद्यालयको जीर्ण भवन पुनर्निर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। अग्रवाल फाउण्डेशनको १२ करोड रुपैयाँ निजी लगानीमा विद्यालयको भौतिक संरचना आधुनिककरण गरिएको हो।

वि.सं. १९८४ मा स्थापना भएको विद्यालयको पुरानो भवन जीर्ण बन्दै गएपछि अग्रवाल फाउण्डेशनको आर्थिक सहयोगमा चार तल्ले नयाँ भवन निर्माण गरिएको हो। बुधबार एक विशेष समारोहका बीच फाउण्डेशनका अध्यक्ष डा. बजरंग अग्रवाल र उनका परिवारका सदस्यहरूले संयुक्त रूपमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरे।

कलैया उपमहानगरपालिकाका मेयर विनोद साहका अनुसार विद्यालयको जीर्ण संरचना पुनर्निर्माणका लागि विभिन्न स्रोत खोजी भइरहेका बेला अग्रवाल फाउण्डेशनले बिना सर्त १२ करोड रुपैयाँ लगानी गरी विद्यालयको नयाँ भवन निर्माण गरिदिएको बताउँदै यसलाई कलैयावासीका लागि ठुलो योगदानका रूपमा मूल्यांकन गरे। उनले भने, ‘अग्रवाल फाउण्डेशनले छोटो समयमा नै गुणस्तरीय भवन निर्माण गरी स्थानीयवासीको ठूलो अपेक्षा पूरा गरेको छ।’

विद्यालय पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका डा. बजरंग अग्रवालले भने, ‘म जन्मेहुर्केको र मैले पढेको ठाउँको लागि केही योगदान गर्ने भावना जागेर विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको हुँ। शिक्षा नै जीवनको मुल आधार भएकाले यसको महत्व बुझ्दै अघि बढ्नुपर्छ।’

अमेरिकामा बसोबास गर्दै डा. अग्रवाल तथा उनका परिवारका सदस्यहरूले कलैयाका अन्य विद्यालयहरूमा समेत भवन निर्माण गरी शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका छन्। विद्यालय भवन उद्घाटनका लागि अमेरिकाबाट नेपाल आएका अग्रवाल परिवारलाई कलैयामा भव्य स्वागतसहित अभिनन्दनसमेत गरिएको थियो।

‘हाई स्कुल’ भनेर चिनिने श्री ३ चन्द्र माध्यमिक विद्यालयमा हाल हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नवीन भवन निर्माणपछि विद्यालयमा भौतिक संरचनाको समस्या हल भएको विद्यालय प्रशासनले जनाएको छ।साभारः नागरिक

 

Related posts

अङ्ग्रेजी माध्यममा पढाइ हुने वीरगन्जका सरकारी विद्यालयहरुमा विद्यार्थीको आकर्षण

MadhesKhabar

साेनवर्षाकाे विधालयमा डेढ दशकपछि व्यवस्थापन समिति गठन

MadhesKhabar

सखुवाप्रसाैनीकाे दलित विद्यालयमा नेपाली सेनाकाे सहयाेग

MadhesKhabar

Leave a Comment