Madhes Khabar
राजनीति

अध्यादेश पास गर्न उपेन्द्रले खोजे गृह र स्वास्थ्य मन्त्रालयमध्ये एक,विकल्पमा मधेसको मुख्यमन्त्री

काठमाडौ,२४माघःजनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

गत पुसमा जारी गरिएका ६ वटा अध्यादेश पारितका लागि सरकार रस्साकस्सीमा रहेका बेला यादवले सांसद राजकिशोर यादवसहित दुई नेतालाई भेटेका हुन् ।भेटका क्रममा पुसमा जारी गरिएका ६ वटा अध्यादेशका सन्दर्भमा कुराकानी भएको यादवनिकट एक नेताले बताएका छन् ।

यादवले भूमिसम्बन्धी अध्यादेश, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी र अन्य केही अध्यादेशमा संशोधन गर्नुपर्ने अडान दुई नेतासँग राखेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेताका अनुसार यादवले भेटमा प्रधानमन्त्री र कांग्रेस सभापतिलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय मध्ये एक मागेको दाबी गरेका छन् ।

यदि यी दुईमध्ये एक मन्त्रालय नदिने भए मधेस प्रदेशको मुख्यमन्त्री मागेको प्रधानमन्त्री ओलीनिकट ती नेताले बताएका छन् । अहिले मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गरिरहेको छ ।

‘केन्द्रमा नमिले मधेस सरकारको नेतृत्व गर्छौं भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री र सभापतिले मिलाएर जाने कुरा गर्नुभएको छ । सरकारमा यात्रा गर्ने इच्छा गर्नुभएको छ ।’

तर, यो कुरा जसपा प्रवक्ता मनिष सुमन मान्न तयार छैनन् । अहिले मन्त्रालय र सरकार आफ्नो प्राथमिकतामा नभएकाले सरकारमा जान आफूहरूले बार्गेनिङ नगरेको उनले बताएका छन् ।

‘संघीय सरकारका मन्त्रालय र मुख्यमन्त्री पद हाम्रो प्राथमिकतामा छैन । हामीले अन्य मागस्वरुप जनतामा एजेन्डाहरू राखेका छौँ,’ सुमनले भने, ‘अध्यादेशको सन्दर्भमा पनि बुँदागत रूपमा संशोधन गर्नुपर्ने कुरा बुझाएका छौँ । हामी सरकारमा जान लालायित छैन ।’

राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस–एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् । जसपाका तीन सांसद राष्ट्रियसभामा छन् ।

राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग अहिले बहुमत छैन । यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले बिहीबार दिउँसोसम्म पनि पार्टीमा निर्णय गराएका छैनन् । राजकिशोर यादव नेतृतवको कार्यदलले प्रतिवेदन बुझाए पनि जसपाले सत्ता र विपक्षी दुवै गठबन्धनसँग बार्गेनिङ जारी राखेको छ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुवै गठबन्धनले संवाद तीव्र बनाएका छन् ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् ।

माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनले अध्यादेश असफल गर्ने प्रयास थालेको छ। प्रचण्डले सम्वाद गरेका छन् । तर यादवले आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ।साभारः खबरहब

Related posts

निर्वाचन आयाेगले गगन समुहलाई बैधानिकता दियाे भने देशभर आन्दोलन गर्ने देउवा समुहकाे धम्की

MadhesKhabar

बारा २ मा मतगणना बिहान ११ बजेदेखि सुरु हुने

MadhesKhabar

धोबिनीका मतदाता माझ कांग्रेस उम्मेदवार रिजालले भने : ‘बदलियो कांग्रेस, अब बदल्छौं देश’

MadhesKhabar

Leave a Comment