बारा,२०माघ : खानेपानीमन्त्री प्रदीप यादवले सुनकोशी र हेटौडा स्थित राप्ति खोलाको पानी ल्याएर तराई–मधेसका नागरिकको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने गरी आफुले योजना बनाई काम गरिरहेको बताएका छन् ।आइतबार बाराकाे निजगढमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले जलवायु परिर्वतनको असर, भुकम्पका कारण तथा चुरे दोहनका कारण तराई–मधेसमा पानीका चापाकलदेखि मुहानहरु सुक्दै जान थालेकाले पानीकाे संकट झन् बढेर जाने बताए ।उनले भने, “खानेपानीको क्षेत्रमा निकै चुनौती रहेको छ।सुनकोशी र हेटौडाको राप्ति खोलाको पानी ल्याएर ट्रिटमेन्ट गरेर दीर्घकालीन रुपमा यहाँको खानेपानीको समस्या समाधान गर्नका लागि योजना बनाएर अघि बढ्दैछौँ ।”
तरई–मधेसका ८ जिल्लामा सुनकोशी डाइर्भसनबाट शुद्ध खानेपानी ल्याउन आँफुले विज्ञसँग गरेको सल्लाह अनुसार करिब रु ५० अर्ब लागत लाग्ने अनुमान गरिएको मन्त्री यादवले बताए ।उनले भने, “सुनकोशी डाइर्भसनबाट पर्सा सम्म पानी पुर्याउन मैले उर्जा मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको छु । सम्भवत: सुनकोशी डाइर्भसनको डिजाईनको टेण्डर यही माघ महिना भित्र निस्किने छ । बारा, पर्सा, रौतहट सम्म शुद्ध खानेपानी वितरण गर्नका लागि नयाँ ट्रिटमेन्ट प्लान्टको डिजाइनको टेन्डर अबको १५ दिन भित्रमा प्रकाशीत गर्नेछु ।”
मन्त्री यादवले निजगढमा खानेपानीको निकै चुनौती रहेको र त्याे समस्या समाधानका लागि आफु सहित सिङ्गो मन्त्रालय अग्रसर रहेको जानकारी दिए।उनले भने, “निजगढ सहित बारा जिल्ला भरीमा खानेपानीको निकै चुनौती छ, यहाँका जिल्लामा डिपिआर सम्पन्न भएका खानेपानीका योजनामा मैले बजेट विनियोजन गरेको छु । अन्य डिपिआर सम्पन्न हुन बाँकी रहेका योजनामा पनि वजेट विनियोजन गर्छु ।”
मन्त्री यादवले खानेपानीमा राजनिती गर्नु महापाप भएको बताए।उनले भने, “पानी रोकेर राजनिती गर्नु पाप हो । सकिन्छ जनताको दिल जितेर राजनिती गरौँ । सकिदैन भने पानीमा राजनिती नगरौँ ।” मन्त्री यादले देशभर रहेका खानेपानी उपभोक्ताहरूका लागि महसुल निर्धारण जनताको आर्थिक पहुँचभित्र हुनुपर्ने भएकाले उपभोक्ताहरूका लागि न्यायसङ्गत महसुल निर्धारणको नीति निर्माणमा सरकारको तर्फबाट सक्रिय पहल गर्ने बताए।

