वीरगन्ज,१८माघःपर्सा जिल्लामा यहि माघ २२ गतेदेखि सुरु हुने महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी.खोप अभियानका तयारी अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा स्वासथ्य कार्यालय पर्साले आयोजना गरेको जिल्ला खोप समन्वय समिति,सञ्चारकर्मी र सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण सिंहले माघ २२ देखि फागुन ६ गतेसम्म जिल्लाका १४ वटै पालिकामा चल्ने अभियानमा ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने उनले बताए ।
उनका अनुसार खोप अभियान पर्सा जिल्लामा दुई चरणमा सञ्चालन हुने छ । माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली ,जिराभवानी,सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने छ ।
यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म,बहुदरमाईनगरपालिका,पकाहा मैनपुर,कालिकामाई,धोबिनी,बिन्दवासिनी,छिपहरमाई र ठोरी गाँउपालिकामा लक्षित उमेर समुहका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने साहले जानकारी दिए ।
खोप अभियानका लागि जिल्लामा रहेका १४ वटै पालिकाका ११२ वटा वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा गरी ३४५ स्थानमा खोप केन्द्र स्थापना गरिने छ । तीसबैमा गरि ६ सय ९० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माघ २२ देखि सञ्चालन हुने एच.पी.भी.खोप अभियानलाई पर्सा जिल्लामा सफल पार्न सबैमा अनुरोध गरे । उनले अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रहपनि गरे ।
खोप अभियानलाई त्रूटी र विवादरहित बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी अर्यालले अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक,शिक्षिका, राजनीतिक दलका अगुवा,सञ्चारकर्मी लगायतलाई अनुरोध गरे । उनलले स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका विज्ञले एच.पी.भी.खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर आफना छोरीहरुलाई उक्त खोप लगाउन जिल्लाबासीसंग अपिल पनि गरे ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर औसतमा २ हजार १ सय ६९ जना महिलामा हुदैं आएकोमा तीमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधी डाक्टर सुरेश शुक्लाले कार्यक्रममा जानकारी गराए । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक औसतमा चार जना महिलाको मृत्युपनि हुने गरेको छ ।
शुक्लाका अनुसार, गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा सञ्चालन गरिएको खोपकेन्द्रबाट १ हजार ६ सय ८० जना बालिका र किशोरीहरुले एच.पी.भी. खोप लगाएका थिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालकै अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामी, नारायणी अस्पतालका सुचना अधिकारी बरिष्ठ चिकित्सक उदयनारायण सिंह,डा. सुरेन्द्र चौधरी,वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,वीरगन्ज हेल्थकेयर हस्प्टिलकी प्रशासन प्रमुख भूमीका अधिकारी,वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाका अनिल यादव लगायतकाकोपनि सहभागिता थियो ।

