Madhes Khabar
कृषि हेडलाइन

किसानले धान बेच्न नल्याएपछि वीरगन्जको खाद्य व्यवस्था कम्पनीले सहकारीसंग खरिद गर्दै

फाइल तस्बीर ।

वीरगन्ज,१६माघ:किसानले धान बिक्री गर्न नल्याएपछि वीरगन्जमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषि सहकारी संस्थासँग धान खरिद गर्न लागेको छ । शाखा प्रमुख पंकजकुमार झाले बाराको महागढीमाई नगरपालिकास्थित विश्वकर्मा बाबा कृषि सहकारी संस्थासँग धान खरिद बिक्रीको सम्झौता भएको बताए ।

‘यो सहकारीसँग अधिकतम २ हजार ५ सय क्विन्टल धान खरिद गर्ने छौं,यसै साताभित्र धान खरिद सुरु हुनेछ,’ उनले भने, ‘कम्पनीको खरिद निर्देशिकाले एउटा सहकारीसँग यतिभन्दा बढी धान खरिद गर्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ ।’

पर्साको पटेर्वासुगौली क्षेत्रको सहकारीसँग पनि छलफल भई रहेको उनले बताए । मंसिर २० देखि धान खरिद खुल्ला गरेको शाखाले यसबर्ष हालसम्ममा २ हजार २ सय ७३ क्विन्टल मात्र धान खरिद गरेको छ । यस वर्ष वीरगन्ज शाखाले केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । ४२ हजार क्विन्टल कोटामध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा छ ।

खाद्यले वीरगन्जमा यस वर्ष जिरा मसिनो धान प्रतिक्विन्टल ४ हजार रुपैयाँमा खरिद खुल्ला गरेपनि किसानले हालसम्म जिरा मसिनो धान बिक्री गर्न ल्याएका छैनन् । यो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको हो । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको थियो ।

यस वर्ष धान खरिद सुरु गरेलगत्तै बारामा पन्चबर्षिय गढीमाइ मेला लागेको कारण किसान मेलामा व्यस्त भएको र त्यसपछि उँखु काट्ने र गँहुको बीउ छर्ने चटारोसँगै किसानको ट्याक्टर पनि व्यस्त भएपछि किसानले धान बिक्री गर्न नल्याएको झाले बताए ।

शाखाले यस वर्ष गत वर्षभन्दा २० दिनअघि धान खरिद खुल्ला गरेको हो । खाद्यले सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैया ६२ पैसामा खरिद गरिरहेको छ । गत वर्ष किसानले निजी क्षेत्रबाटै बढी मूल्य पाएपछि खाद्यलाई धान बिक्री गर्न ल्याएनन् ।साभार:कान्तिपुर

Related posts

जन्मसिद्ध नागरिकका सन्तानले अब पाउने भए बंशज नागरिकता

MadhesKhabar

वीरगन्ज नाका हुँदै २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी रक्सी

MadhesKhabar

स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय :वीरगन्जको नारायणीसहित ठूला अस्पतालमा जनशक्ति थप गर्ने

MadhesKhabar

Leave a Comment