वीरगन्ज,१२माघः शिक्षालाई पूर्ण रुपमा निःशुल्क बनाएमा बालविवाह र दाइजो प्रथा धेरै हदसम्म नियन्त्रणमा आउने पालिकाका जनप्रतिनिधीहरुले बताएका छन् ।
वीरगन्जमा हाम्रो अभियान नामक संस्थाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले विद्यालय स्तरको शिक्षा निःशुल्क भनिएपनि अनेक बहानामा शुल्क लिने गरिएका कारण विपन्न समुदायका बालबालिका र किशोरकिशोरीले बिचमै विद्यालय छोड्नुपर्ने बाध्यता रहेको बताए । जसका कारण विशेषगरी मधेसको समाजमा बालविवाह र दाइजो जस्ता कुप्रथाले अझैपनि प्रश्रय पाइरहेको उनिहरुको भनाई थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादवले भने,‘कमित्मा १० कक्षासम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क बनाऔं । विद्यार्थीहरुसंग परिक्षा वा कोचिङ शुल्कको नाममा लिइदै आएको शुल्क नलिऔं । विधार्थीहरुलाई चाहिने कपि,कलम, पोशाक लगायतका सबै शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था गरौं । यति गनै सकियो भने समाजबाट वालविवाह र दाइजो कुप्रथा आँफै हटेर जानेछ।’
शिक्षामा गरिब,विपन्न,दलितहरुको पहुँच पुग्न नसकेकै कारण वालविवाह र दाइजो जस्ता कुप्रथाले अझैपनि प्रश्रय पाइरहेको उनको भनाई थियो । उनले आफ्नो वडाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विधार्थीहरुसंग कुनै शुल्क नलिने गरेको र उनिहरुलाई आवश्यक शैक्षिक सामग्री वडा कार्यालयले निःशुल्क उपलब्ध गराउँदै आएकोपनि बताए । उनले भने,‘त्यसैको सकरात्मक परिणाम हाम्रो वडामा देखिन थालिसकेको छ । मेरो वडाको विद्यालयमा २ सय विधार्थी रहेकोमा अहिले ८ सय भन्दाबढी विद्यार्थी पुगेका छन् ।’
यस्तै बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष गम्भीरा राउत कुर्मीले पनि अहिलेसम्मको आफ्नो तीन वर्षे कार्यकालमा आँफुले विद्यालय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने,‘वडाध्यक्षले चाह्यो भने समाजमा विद्यमान कुप्रथाहरु आँफै निरुत्साहित भएर जान्छ । शिक्षालाई पूर्ण रुपमा निःशुल्क बनाउन सकियो भने वालविवाह र दाइजो कुप्रथा धेरै हदसम्म रोकिन्छ।’
पालिकाका जनप्रतिनिधी स्वंयले आफनै घरपरिवारमा वालविवाह नगर्ने र दाइजो लेनदेन नगरेमा त्यसको सकरात्मक सन्देश समाजमा जाने उनले बताए ।
बाराकै परवानीपुर गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष इब्राहिम मियाँले पण्डित र मौलबीले बेहुला र बेहुलीको जन्मदर्ता सिफारिस पत्र हेरेरमात्र विहेको मण्डपमा वैवाहिक विधी वा निकाहाको विधी गराउनुपर्ने सुझाव दिए । पूजारी वा मौलबीले नेपालको कानूनले तोकेको भन्दा कम उमेरका बेहुला र बेहुलीको विहेवारीमा सरिक हुन छाडेमा वालविवाहमा कमी आउने उनको राय थियो ।
तर दाइजोको सन्दर्भमा उनले दाइजोको रकम वा सरसामान लेनदेन गुपचुप तरिकाले हुने भएकाले त्यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण नै रहेको बताए । यद्यपि दाइजो कानूनी अपराध भएकाले यसलाई सामाजिक अपराधपनि हो भनेर बुझाउन सकेमा धेरै हदसम्म नियन्त्रणमा आउन सक्ने उनले बताए ।
बाराको कलैया–६ मा रहेको मदरसाका शिक्षक मोहम्मद खैरुदिन मियाँले मुस्लिम समुदायमा अहिले वालविवाह र दाइजो धेरै हदसम्म नियन्त्रणमा आइरहेको बताए । यद्यपि अहिलेपनि ती कुप्रथा निर्मूल हुन नसकेको भन्दै उनले भने,‘हामी धार्मिक अगुवाहरु यसलाई रोक्न लागेका छौं ।आउने दिनमापनि हामी यसमा लागिरहन्छौं ।
उनले वडा समितिको कार्यालयले विहे गर्ने उमेर पुगेका केटा र केटीलाई विहेका लागि सिफारिस पत्र दिनुपर्ने व्यवस्थापनि लागु गर्नुपर्ने सुझाव दिए ।यति गर्न सके वालविवाह हुनै नसक्ने उनको भनाई थियो ।
छोरा सरह छोरीलाईपनि पैतृक सम्पतिमा अंश दिने कानूनी व्यवस्था गर्न सके दाइजो प्रथापनि आँफै हराएर जाने उनको धारणा थियो ।
हिन्दु धर्मका अगुवा एंव ज्योतिष पण्डित पुरुषोत्तम दुबेले सनान हिन्दु धर्ममा दाइजो कुप्रथाका रुपमा भित्रिएको बताए । उनले भने,‘हिन्दु धर्म शास्त्रमा दाइजो कहिपनि उल्लेख नै छैन । तिलक भनेको दाइजो होइन । तिलक भनेको त बेहुली पक्षले बेहुलालाई आशीर्वादका लागि लगाइदिने एक प्रकारको टीका हो ।तर तिलकलाई कुप्रचार गरेर दहजेका रुपमा बदनाम गरिदैछ।’
वालविवाह कानूनी र सामाजिक अपराध भएको भन्दै उनले विहे मण्डपमा पूजारी वा मौलबीले बेहुला र बेहुली दुवैको जन्म दर्ताको प्रमाणपत्र हेरेर मात्र विहेवारी गराउनुपर्ने सुझाव दिए । त्यसका लागि आँफुहरु प्रतिबद्धत रहेको उनले बताए । पछिल्लो समय मधेसका समाज भइरहेको विहेवारीका उत्सवहरु खर्चिलो र भड्कीलो बन्दै गएका कारण यसले झन् विकृति थप्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महङ्गा होटल वा पार्टी प्यालेसमा कार्यक्रम वा भाषण गरेरमात्रै समाजबाट बाल विवाह र दाइजो जस्ता कुप्रथा नियन्त्रणमा आउन नसक्ने बताए । त्यसका लागि शिक्षामा सहज पहुचसंगै सामाजिक चेतना बढाउनुपर्नेमा उनले जोड दिए । समाजकै अगुवाले वालविवाह र दाइजो प्रथा रोक्नुपर्छ भनेर हृदयदेखि नै सोचेर लाग्नुपर्ने उनले बताए । वालविवाह गर्ने र दाइजोको लेनदेन गर्नेहरुलाई समाजले नै बहिष्कार गर्ने अभियान चलाउनुपर्ने उनले बताए ।
हाम्रो अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षता र संयोजक सलमा खातुनको सहजीकरणमा भएको उक्त कार्यक्रममा पर्सा र बाराका विभिन्न पालिकाका वडाध्यक्ष,बालबालिका र महिलाका क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंंथाका प्रतिनिधी,सञ्चारकर्मी लगायतकाकोपनि सहभागीता थियो ।