Madhes Khabar
समाज हेडलाइन

मधेसका पढेलेखेका दलित युवाहरुको वेदना : जागीर खोज्दा पाइदैन,पुख्यौली पेशापनि संकटमा पर्दैछ

माधुरी महतो
वीरगन्ज,५माघःहासिल गरेको शिक्षा , सिप र क्षमता अनुसारको रोजगार र पारिश्रमिक पाउनुपर्ने हरेक नागरिकको मौलिक अधिकार नै हो । चाहे त्यो दलित समुदायको होस् वा अन्य कुनै समुदायको । तर विशेषगरी दलित समुदायको हकमा भने उतm अवसर पाउन अझैपनि कठिन छ ।

बढ्दो राजनीतीक खिचातानी , अस्थिरता , महँगीको बीचमा देशमै उपलब्ध रोजगारीबाट प्राप्त हुने पारिश्रमिकले सामान्य जीवन चलाउन समेत कठिन भईरहेको छ भने अर्कोतिर जात समुदाय विशेषले मात्र जागिर पाउने अवसरमा समेत विभेद भईरहेको कारण दलित समुदायका युवालाई न रोजगार छ न त आफ्नो परम्परागत उद्यमशीलताको बाटो रोज्नका लागि न सुविधा छ , न अवसर नै ।

किनकि जात व्यवस्थाले यहाँ उद्यमी बन्ने दायरा, अवसर र चुनौती जात अनुसार फरक फरक बनाइदिएको अवस्था छ।एकातिर दलित युवाले आफुले दुख गरेर पढेलेखेका सिपले पनि रोजगारी पाउदैनन् भने धेरै ठाउँमा दलितले सञ्चालन गरेका होटल, रेस्टुरेन्ट तथा खाद्य सामग्रीका पसल÷व्यवसाय चल्न सकिरहेका छैनन्।

दलित युवालाई आज पनि केही राम्रो व्यवसाय सुरु गर्नुअघि जात बाधक बन्छ कि भन्ने डरले सताईरहन्छ । र यो विभेद ग्रामीण तथा सहरी दुवै क्षेत्रमा देखिन्छ ।

दलितले छोएको केही पनि होस् अशुभ हुने जस्ता रुढिवादी परम्पराका कारण दलितका सिप, सिर्जना र सामथ्र्य र उद्यमशीलतालाई अगाडि बढ्न दिइरहेको छैन। सिप र सिर्जनाका धनी दलित समुदायलाई आफ्नो कर्ममा सम्मान पाउने अवसर र अधिकार कहिल्यै पनि दिइएन भन्ने उनीहरुको गुनासो छ । उल्टै, उनीहरूका सिप र पेसाको अपमान गर्ने काम पो भईरहेको छ ।

उदाहरणका लागि दलितले आफ्नो भाग्य सम्झदै गर्दै आएको जुत्ता सिलाउने कार्य तथा उनीहरुका पेशा व्यवसायलाई पनि आधुनिक प्रवीधीमा रुपान्तरण गर्ने तथा संरक्षण गर्न वा नयाँ व्यवसायमा लाने कार्यमा कुनै सहयोग नगरेको पाईन्छ । त्यती मात्र नभई दलित समुदायका युवाहरुले आफुले पढेलेखेको भएपनि जागिर नपाउँदा उनीहरु आफ्नो परम्परागत पेशामै लाग्न बाध्य हुदैछन् भने अर्को तर्फ कुनै नयाँ उद्यम व्यवसाय सुरु गर्नका लागि पुँजी अभाव हुन्छ ।

पुँजी जुटाउनका लागि उनीहरूसँग राजनीतिक पहुँच छैन। समाजमा उनीहरूलाई आर्थिकरूपमा सहयोग गर्ने कोही पनि छैनन्। आर्थिक अवस्था कमजोर भएकै कारण ऋण दिनेहरुले पनि पत्याउँदैनन्। दलित उद्यमीसँग धितो राखेर बैंकबाट ऋण लिनका लागि आफनो जग्गाजमिन पनि छैन।

यसरी जात व्यवस्थाको प्रत्यक्ष प्रभावका कारण दलित समुदायका युवाहरु आर्थिक संकट तर्फ उन्मुख त भइरहेका छन् नै । अर्को तर्फ दिन÷प्रतिदिन खासगरी दलित समुदायबाटै युवाहरु नचाहदा नचाहदै पनि विदेश पलायन हुन बाध्य भईरहेका छन् ।
उदाहरणका लागि प्रत्येक दिन वीरगन्जको मुटु भनिने घण्टाघर चोकको छेउमा हरेक दिन विहानैदेखी उनीहरु जुत्ता सिलाउने ग्रााहकको पर्खामा बस्छन् ।यस्ता समाजका लागि संविधानमा के छ त व्यवस्था ? किन उनीहरु हरेक अधिकारबाट बञ्चित छन् त ? अधिकार प्राप्ती नहुँदा के के बाट बञ्चित भए वा हुदैछन् ?कसरी चलिरहेको छ उनीहरुको जिवन ? यसबारे सोचिदिने कोही पनि छैन ।

वीरगन्जको मुटु मानिने घण्टाघरको छेवैमा एउटा दलित बस्तीपनि छ । त्यो दलित बस्तीमा खासगरी राम अर्थात चमार जातिका मानिसको बसोबास छ । उनीहरुले आफ्नो परम्परागत पेशा भन्दै अर्थात सदियौँ देखी घण्टाघरको छेउमा जुत्ता सिलाउने कार्य गर्दै आएका छन् । बाउबाजेको पालादेखी नै आफ्नो पेशालाई निरन्तरता दिदै आएपनि आफ्नो छोरा छोरीलाई भने भ्याएसम्म शिक्षा दिक्षामा अगाडी सारेको देखीन्छन् उनिहरु । कतिपयले भने वीरगन्जको राम्रो मानिने कलेजबाटै उच्च शिक्षा समेत हासिलसमेत गरिसकेका छन् ।

त्यसमध्ये वीरगन्जको एक प्रतीष्ठित कलेजबाट म्यानेजमेन्टमा प्लस टु गरेका तुलसी राम भन्छन् ,’मेरो बुवाआमा आर्थिक अवस्थाले एकदमै विपन्न भएपनि यही जुत्ता सिलाउने काम नै गरेर मलाई उच्च शिक्षा आर्जन गराउनमा कुनै कसर बाँकी राख्नुभएन । कति दिन कति रात भोकै पनि बस्यौँ याद छैन । अहिले म राम्रो कलेजबाट पास गरेको छु । सर्टिफिकेट लिएर जागिरको लागि भौतारीएकै तीन वर्ष जति भयो । तर खै मेरा अरु जातिका सबै साथिले जागिर पाए तर मैले पाउन किन यती सकस ?’

उनका हजुरआमा सुनैना देवीले दुखि हुँदै भनिन् , ‘हाम्रो वेदना सुन्नेवाला कोही छैन ।जब चुनाव आउँछ सब भन्दा बढी रौनक हाम्रै टोलमा हुन्छ । नेताहरुको लर्को लागेको हुन्छ भोट माग्नैका लागि ।तर जब चुनाव सकिन्छ अनि त्यसपछाडी टोलमा के भयो ?को बाँचे ?को मरे ? त्यो हेर्न कोही नेता आउँदैनन् । मेरो नातिको जागिरको लागि क–कसलाई भनिन होला । कति आग्रह गरे तर जागिर पाइएको छैन । जागरि नै नपाएपछि त्यत्रो पढाको के फाइदा ? । पढेलेखेका यस्ताले जागिर नपाएपछि टोलमा पढ्ने अरुको पनि मनोबल खस्केको छ ।’

यता अर्कोतर्फ भने जुत्ता सिलाउने परम्परागत कार्यलाई व्यवस्थित गर्न नसक्दा पेशा नै ओझेलमा परेको छ । वर्षाैदेखी ती समुदायका मानिसहरु जुत्ता सिलाउने पेशामा आबद्ध छन् । ती समुदायका युवाहरु पढेलेखेका भएपनि अझ पनि जागिर खोज्न जाँदा जागिरमा पनि विभेद हुने गरेको घटना छ । यस्ता कतिपय युवा अहिले पढेलेखेर पनि काम नपाएपछि ती समुदायका युवाहरु सहर बजारमा जुत्ता सिलाउने कामबाट नै घरखर्च टार्ने प्रयास गरीरहेका छन् । राम्रो जागिर पाईने भन्दै राम्रो कलेजमा पढेको भएपनि अहिलेपनि जागिरमापनि विभेद हुने गरेको कारण उनीहरु अझ ओझेलमा छन् ।

पर्साको औराहाका दिपनारायण राम पनि यस्तै गुनासो गर्छन् । पढेलेखेर काम नै नपाएपछि अहिले आफ्नै समुदायका बालबालिकालाई जम्मा पारेर ट्युसन पढाउने गरेको उनि बताउँछन् । गाउँमा त हरेक तवरबाट यस्ता हेपाई , अपमान र विभेद त खेपेरै युवा उमेरमा आईपुग्यौ अब स्थानीय तह , प्रदेश सरकार र केन्द्र सरकारको विभेद पनि खेप्न बाध्य भएका छौँ,भन्छन् उनी ।
सरकारले दलित समुदायलाई लक्षित गरी विभिन्न स्वरोजगार लगायतका योजनाबाट ठुलो बजेट छुट्याइरहेको दाबी वर्षेनी गर्दै आएपनि लक्षित वर्ग नै उक्त योजनाको लाभबाट बञ्चित भइरहेका छन् ।जाहाँ पनि हुनेखाने र पहुचवालाकै हालिमुहालि रहेको भन्दै उनीहरु आक्रोश व्यक्त गर्छन् ।

यस्ता समुदाय विशेशष युवा मानिस लक्षित विभिन्न स्वरोजगार कार्यक्रम वा उनीहरुका परम्परागत सिप र कामलाई आधुनिक तवरले आधुनिक प्रवीधीले अगाडी बढाईदिन सरकारले हाल सम्म कुनै पनि भुमिका खेलेको जस्तो महशुश नगरेको पनि उनीहरु बताउँछन् । ती समुदायका युवाले आफ्नो परम्परागत पेशा व्यवसाय नै गर्नुपर्छ भन्ने मानसिकता र बाध्यतालाई सरकारले सम्बोधन गरी उनीहरुका सिप , शिक्षाका हिसाबले पनि अवसर प्रदान गर्न सकियो भने उक्त समुदायका युवा जमातले पनि राम्रो गरेर देखाउन सक्ने उनीहरु बताउँछन् ।


सामाजिक अभियन्ता प्रकाश थारुको भनाईमा हाल थुप्रै त्यस्ता युवाहरुले जातीको आधारमा पनि र साथै आफ्नो समुदायको सिपलाई मानिसको रुचि अनुसार रुपान्तरण गर्न नसक्दा दुख पाईरहेका छन् ।अहिलेपनि न मानिसहरुले जाति सोधेर मात्रै घर समेत डेरामा दिने मानसिकता नेपाली समाजमा रहेको उनिन सुनाउँछन् । त्यस्तो मानसिकता त्यागेर सबैलाई समान अधिकार भन्दा पनि समता र समानतामा स्थानीय , प्रदेश र केन्द्र सरकारको धारणा तथा योजना प्रष्ट रुपमा आउनुपर्नेमा उनको जोड छ ।

थरुले भने,‘आर्थिक अवस्था कमजोर भएका तथा दलित समुदायका मानिसका बारे गम्भिर भएर सोच्नुपर्ने अवस्था छ । एकातिर समान अधिकार दिए भन्ने अर्को तर्फ दिएको अधिकार उपयोग गर्ने स्थान तथा अवसर नदिने भए किन समान अधिकार दिएको भनिराख्नु ?’।

सामाजिक अभियन्ता मनोज रामले भने आफुहरुले समुदायका युवाहरु लक्षित सिप मुलक , स्वरोजगार मुलक तथा छात्रवृति लगायतका विषयमा निरन्तर पहल ,प्रयास तथा खबरदारी स्थानीय तह र प्रदेश सरकारलाई गर्दै आएको र यसलाई निरन्तरता दिइरहने बताए ।

यता सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले भने त्यस्ता युवा तथा काम गर्ने व्यतिmहरुलाई स्वरोजगार बनाउन विभिन्न योजनामा कार्य गरीरहेको बताए ।पर्साको पटेर्वासुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारुले पालिका अन्तर्गतका आथिक अवस्था कमजोर भएका युवा,महिला लगायतलाई स्वरोजगार बनाउन विभिन्न योजनामा काम सुरु नै गरिसकिएको बताईन् ।उनले परम्परागत कार्यलाई पनि नयाँ आधुनिक प्रविधी मार्फत प्रतिस्पर्धामा ल्याउन सकिने गरी बजारको कमी समेत नहुन दिने गरी काम भईरहेको जानकारी दिईन् ।

Related posts

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

MadhesKhabar

वीरगन्जमा प्रदीप खण्डेलवाल ट्रष्टको वार्षिकोत्सवमा १०४ जनाले गरे रगत दान

MadhesKhabar

जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

MadhesKhabar

Leave a Comment