वीरगन्ज,२२फागुनः दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो तथा अन्तिम क्वार्टरफाइनल खेलमा सलहेश फुटबल क्लब सिरहालाई हराउँदै मच्छिन्द्रले फाइनलमा प्रवेश गर्दै पुलिससंग उपाधि भिडन्त पक्का गरेको हो ।
साविक विजेता पुलिस यसअघि नै पहिलो सेमिफाइनलमा घरेलु टोली वीरगन्ज युनाइटेड क्लबलाई सडन डेथमा स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । मच्छिन्द्र र पुलिसबीचको फाइनल खेल फागुन २४ मा हुनेछ । मच्छिन्द्रले यसै साता केपी ओली कप र मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप जितेको छ ।
वीरगन्जको आदर्शनगर रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिरहामाथि मच्छिन्द्रले ३–१ को सहज जित निकाल्यो । मच्छिन्द्रका लागि विदेशी खेलाडी स्टेफन जोलीले दुई र आदित्य शाक्यले एक गोल गरे । सिरहाका लागि सान्तवनता गोल विदेशी बेन इब्राहिमले गरे ।
खेलको सुरुदेखि नै सिरहामाथि हाबी भएको मच्छिन्द्रले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । खेलको १० औं मिनेटमै पहिलो गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका स्टेफनले त्यसको २ मिनेटपनि नबित्दै आददित्य शाक्यको पासमा पुन अर्को गोल थपेका थिए ।
खेलको ६५ औं मिनृटमा पुन मच्छिन्द्रका आदित्य शाक्यले गोल गर्दै आफ्नो टिमलाई ३–० को अवस्थामा पुर्याएका थिए । निर्धारित ९० मिनेटको खेलपछि थपिएको ६ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा भने सिरहाका बेन इब्राहिमले आफनो टिमका लागि सान्तवना गोल गरे ।
दोस्रो हाफमा मच्छिन्द्र रक्षात्मक बनेपछि सिरहाका खेलाडीहरु आक्रमक बनेका थिए । तर मच्छिन्द्रको सशक्त रक्षापंक्तीका कारण सिरहाले आँफुलाई खेलमा फर्काउन सकेन ।मच्छिन्द्रका लागि दुई गोल गरेका विदेशी खेलाडी स्टेफन जोली खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र टफी प्राप्त गरे ।
भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल फागुन २४ गते हुने छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

