वीरगन्ज,१८ फागुनःवीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वामा व्यक्तिले कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ ।
महानगरको अतिक्रमण नियन्त्रण समितिले आइतबार नापजाँच गरेर अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको हो । उच्च अदालत वीरगन्जमा परेको रिटमा महानगरको पक्षमा फैसला आएसँगै व्यक्तिले कब्जा गरि दुरुपयोग गरेको सार्वजनिक जग्गा महानगरले आफ्नो अधिनमा ल्याउने बाटो खुलेको हो । सार्वजनिक जग्गा व्यक्तिगत प्योजनमा प्योग हुनुहुँदैन भन्दै स्थानीय हसमुदिन अंसारीले नैमुद्दिन अंसारी र बसरुद्दिन अंसारी विरुद्ध जाहेरी दिएका थिए ।
अदालतका न्यायाधीशद्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैको कब्जामा हुन नहुने भन्दै सार्बजनिक प्रयोजनमा ल्याउन आदेश दिएका थिए । सोही बमोजिम महानगरपालिकाले आइतबार सर्वेक्षक सहितको टोली लगेर सार्बजनिक जग्गा छुट्याउँदै व्यक्तिको कब्जाबाट मुक्त गराएको हो ।
महानरका मेयर राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगर प्रयोजनमा दुरुपयोग हुन नदिने अभियान नै चलाएका छन् । महानगरका मेयर सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नापनक्सा गरि किलाखुट्टा गाडेर ब्यक्तिको कब्जाबाट जग्गा मुक्त गराएको वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले जानकारी दिए ।

