वीरगन्ज,७माघः गत असोजमा गण्डक नहरअन्तर्गत तिलावे खोलामाथिको पुलको बीच भागको पिलर भाँचियो । दुवै तर्फबाट पुलको बीच भाग भासिएको चार महिना पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल भत्किएपछि सिँचाइ डिभिजन कार्यालय वीरगन्जले आवागमनका लागि खोलामाथि डाइभर्सन निर्माण गरेको छ ।
तर, डाइभर्सनको बाटोमा अत्यधिक बालुवा र माटोको प्रयोग गरिएकाले सवारीसाधन चलाउन कठिनाइ हुने गरेको स्थानीयले गुनासो गरेका छन् । पर्साको उत्तरी भेगका बासिन्दा सदरमुकाम वीरगन्ज र बारा पुग्न गण्डक नहरको बाटो प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सडक विभागले गण्डक नहरको बाटो कालोपत्र गरेपछि सवारीको आवागमन अझै वृद्धि भएको छ । पुल भत्किएपछि कतिपय सवारी साधन तिलावे ब्यारेजको बाटो प्रयोग गर्न थालेका छन् । ठूला गाडी ब्यारेजको बाटो प्रयोग गर्न थालेपछि ब्यारेजको संरचना थर्किन थालेको सिँचाइका प्राविधिकले जनाएका छन् ।
सिँचाइ डिभिजन कार्यालय वीरगन्जका प्रमुख मनोज पटेलका अनुसार पुल भत्किएपछि तत्काल विभागमा जानकारी गराइएको थियो । ‘विभागका अधिकारीले भत्केको पुल सडक विभागले बनाउने बताएका थिए,’ कार्यालय प्रमुख पटेल भन्छन्, ‘तर, सडकले बनाउने हो कि हैन, अत्तोपत्तो छैन ।’ पुल निर्माणका लागि कार्यालयमा बजेट नरहेको पटेलले बताए । नहरको सरसफाइ र सिँचाइ प्रणाली सुरु राख्नका लागि मात्र बजेट आउने गरेको छ ।
उक्त बाटो प्रयोग गर्दै आएका पर्सागढी नगरपालिका निवासी सरोज यादवले पुल भत्किएपछि पर्साका उत्तरी भेगका बासिन्दाले सास्ती खेप्नुपरेको बताए । ‘बर्खामा तिलावे खोलाको बहाव बढेपछि डाइभर्सन प्रयोग गर्न सकिँदैन,’ उनले भने, ‘समयमै पुल मर्मतसम्भार वा पुनर्निर्माणको निर्णय सरकारले लिनुपर्छ । जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छौँ ।’ हाल संघीय सरकारमा पर्साबाट मात्र तीन/तीन जना क्याबिनेट मन्त्री हुँदा पनि गण्डक नहरको पुल निर्माण नहुनु दुःखद भएको उनले सुनाए ।भुषण यादव/कान्तिपुर

