काठमाडौं,२९पुसः आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको तयारी स्वरूप सोमबार भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसंग पराजित भएको छ ।
मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा भएको अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसंग ९ रनले पराजित भएको हो । वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ऋोभरमा अलआउट हुदैं १०० रनमात्रै बनायो।नेपालका लागि सिमाना केसीले २३ तथा किरण कुँवर र कप्तान पुजा महतोले समान १८–१८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् । बलिङ्तर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

