
काठमाडौं,२५पुस:कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ६५ लाख धरौटी बुझाएपछि उनलाई काठमाडौं लैजाने तयारी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताए । ‘भर्खर अदालतको आदेश आएको छ । धरैटी बुझाएर रिहा भएपछि उहाँलाई हामी काठमाडौं पठाउँछौं’ एसपी ओलियाले भने ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार साँझ लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अब उनले ६५ लाख धरौटी तिर्नुपर्नेछ । यदी धरौटी तिर्न नसकेको अवस्थामा भने उनी कारागार चलान हुनेछन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र कास्की जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
काठमाडौं जिल्ला अदालतमा भने लामिछानेविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।साभार:अनलाइनखबर

