वीरगन्ज,२२पुसःवीरगन्जमा सडकका छाडा कुकुर (सामुदायिक कुकुर) हरु बस्नका लागि अस्थायी घरको व्यवस्था गरिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा वडाध्यक्ष सुशील साह कानुको अग्रसरतामा अहिलेको चिसो र शीतलहरले प्रभावित भइरहेका सडकका कुकुरहरूलाई बस्नका लागि वडा नम्बर १० का विभिन्न स्थानमा कुकुर बस्ने घरहरूको व्यवस्था गरिएको हो ।
सोमबार वडाका विभिन्न सात स्थानमा प्लाष्ट्रिकको ड्रममा न्यानोका लागि जुटको बोराभित्र पराल भरेर कुकुरहरुलाई बस्ने व्यवस्था गरिएको वडाध्यक्ष कानुले बताए । अबको तीन चारदिनपछि सडकका कुकुरहरुलाई चिसोबाट राहत दिन डग हाउस नै निर्माण गरेर ठाँउ ठाँउमा राखिने बताउँदै कानुले त्यसका लागि कामपनि सुरु गरिसकिएको बताए ।
त्यसका लागि दाताहरुबाट सहयोग जुटाउने काम भइरहेको उनले बताए । कानुले भने,‘अहिलेको चिसो र शीतलहरमा मान्छे मात्र नभई सडकका कुकुृरहरुपनि प्रभावित भएको देखेपछि माया लाग्यो । अनि केहि दाताहरुलाई अनुरोध गरे । उहाँहरुले कुकुरहरुलाई न्यानो पारेर बस्नका लागि आवश्यक सहयोग गर्न राजी हुनुभयो ।’
दाताहरुबाट अहिलेसम्म ३० वटा प्लाष्टिकको ड्रम प्राप्त भइसकेको भन्दै वडाध्यक्ष कानुले भने,‘जहाँ जहाँ कुकुरको संख्या कम देखिन्छ त्यहाँ ड्रम राख्न थालेका छौं । अनि जहाँ जहाँ कुकुरको संख्या बढी देखिन्छ त्यहाँ अस्थायी घरजस्तै डग हाउस नै बनाएर राख्छौं । ड्रममा तीन देखि चार वटा र डग हाउसमा सात देखि आठ वटा कुकुर बस्न सक्छन्।’
उनका अनुसार, वडा नम्बर १० मा मात्रै २ सय भन्दा बढीको संख्यामा सडक कुकुर रहेका छन् । सडकका कुकुरहरुको बास व्यवस्थापनका लागि आवश्यक सामग्री दाताहरुबाटै सहयोगका रुपमा संकलन भइरहेको भन्दै उनले भने,‘यसमा वडा कार्यालयले आफ्नो बजेट सकेसम्म खर्च नगर्ने सोच छ । आवश्यक व्यवस्थापन दाताहरुबाटै सहयोगका रुपमा जुटाइरहेका छौं ।’
सडकका कुकुर पनि मानिस जस्तै प्राणी भएको भन्दै उनले अहिलेको चिसो र शीतलहरको मौसममा जाडोले उनिहरुको अवस्था दयनिय देखिएकाले आफुले उनिहरुको लागि न्यानो बासको व्यवस्थापनका लागि अभियान थालेको बताए ।
उनले वीरगन्ज महानगरका अन्य वडाका जनप्रतिनिधीलेपनि सडकका कुकुरहरुलाई चिसोबाट जोगाउन यस्तै किसिमको काम थाल्नुपर्ने सुझाव दिए । उनले भने,‘अरु वडालेपनि यस्तै काम गर्न चाहन्छन् भने त्यसका लागि आवश्यक परामर्श र सहजिकरण गर्न म तयार छु ।’
यसका साथै चिसो र शीतलहरले जनजविनसमेत प्रभावित भएपछि वडा नम्बर १० का विभिन्न स्थानमा सोमबारदेखि दाउरा खसालेर आगो ताप्ने व्यवस्थापनि मिलाइएको वडाध्यक्ष कानुले जानकारी दिए ।

