वीरगन्ज,२१पुसःवीरगन्जको घण्टाघर छेउको विपी उद्यानको जग्गा खाली गराउन महानगरपालिकाको कार्यालयले डोजर चलाएको छ । विपी उद्यानको खाली जग्गामा अनाधिकृत रुपमा वर्षौदेखि तरकारी,फलफुल पसलका साथै अस्थायी टहरा बनाएर खाजानास्ताका पसल र लुगाकपडाका पसल सञ्चालनमा थिए ।
आइतबार महानगरपालिकाको कार्यालयले अनाधिकृत रुपमा सञ्चालित ती पसल र टहाराहरु हटाउन डोजर चलाएको हो ।उद्यानको खाली जग्गामा रहेका पसल र टराहरु हटाउन महानगरपालिकालले पुस १२ गते ७ दिने अल्टिमेटमसहितको सूचना दोश्रो पटक जारी गरेको थियो । त्यसअघि गत मंसिर २६ गतेपनि महानगरपालिकाले १५ दिनको अल्टिमेटमसहितको सूचना निकालेको थियो ।
दुई पटक सूचना जारी गर्दापनि पसलेहरुले आफना पसल र टहराहरु नहटाएपछि बाध्य भएर महानगरपालिकाले आइतबारदेखि डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउन थालेको महानगरका मेयर राजेशमान सिंहले बताए ।उनका अनुसार, बिपी उद्यानको खाली गराउन थालिएको जग्गामा पार्क निर्माणको काम थालिनेछ ।उनले भने,‘विपी उद्यानको जग्गा पूर्ण रुपमा खाली गराएपछि त्यहाँ पार्क निर्माणको काम छिट्टै सुरु गरिनेछ ।’ सुरुमा विपी उद्यानमा मनोरञ्जनात्मक गतिविधि गर्ने स्थान, खेलकुदको व्यवस्थापन र ज्येष्ठ नागरिकको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने सिंहले जानकारी दिए ।
यसअघि २०७३ फागुन ८ गतेपनि वीरगन्ज महानगरपालिकाले विपी उद्यानको जग्गामा गरिएको अतिक्रमण डोजर लगाएर खाली गराएको थियो । तर लगत्तै उद्यानको जग्गामा त्यसपछि फेरि व्यपारी र पसलेले फेरि कब्जा गरि टहरा बनाएर पसल थापेका थिए ।
झण्डै १० बिघा क्षेत्रफल रहेको विपी उद्यानमा अनाधिकृत रुपमा थापिएका थोक तरकारी मण्डीका दर्जनौ पसल र होटलबाट दिनहु निस्कने फोहोरमैलाको व्यवस्थापन नहुदा ती फोहोर जन्य वस्तु कुहिएर महिनौ दिन सम्म रहने गरेको छ ।कुहिएका ती फोहोरबाट निस्कने दुर्गन्धले बजार छेउ भएर हिड्ने यात्रुहरुलाइ नाक थुन्नु पर्छ ।
शहरकै केन्द्रमा रहेको उद्यानमा अनाधिकृत रुपमा लगाइएको अव्यवस्थित एंव दुर्गन्धित थोक तरकारी बजार , त्यहा जथाभवाी तरिकाले बनाइएका झुप्रा र टहरा तथा दुर्गन्धले वीरगन्ज महनगरकै सौन्दर्यलाइ नै कुरुप बनाएको छ ।

