Madhes Khabar
स्वास्थ्य हेडलाइन

सरकार परिवर्तनसँगै नारायणी अस्पतालमा सेवा पनि परिवर्तन

वीरगन्ज,३०चैतः वीरगन्जस्थित नारायणी अस्पताल मधेस प्रदेशकै एक प्रमुख सरकारी स्वास्थ्य संस्था हो । लामो समयदेखि यो अस्पताल तराई–मधेस क्षेत्रका हजारौं गरीब तथा मध्यमवर्गीय बिरामीहरूको मुख्य आश्रयस्थलका रूपमा रहँदै आएको छ । तर विगत केही वर्षदेखि अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, सरसफाइ, चिकित्सकीय सेवा र कर्मचारी अनुशासनलाई लिएर लगातार प्रश्न उठ्दै आएका थिए ।

देशमा नयाँ सरकार गठनपछि भने अस्पतालभित्र उल्लेखनीय सुधार भएको दाबी व्यवस्थापन पक्ष तथा सेवाग्राही दुवैले गर्न थालेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा चितरञ्जन साहका अनुसार अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्राविधिकदेखि सफाइ कर्मचारीसम्मको कार्यशैलीमा स्पष्ट परिवर्तन देखिएको छ । यस परिवर्तनले सेवा प्रवाहलाई व्यवस्थित बनाएको र बिरामीको चापलाई व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ ।

कर्मचारी व्यवस्थापनमा देखिएको परिवर्तन

नारायणी अस्पतालमा करीब चार सयभन्दा बढी कर्मचारी कार्यरत छन् । तीमध्ये चिकित्सक, नर्स, ल्याब प्राविधिक, प्रशासनिक कर्मचारी र सफाइ कर्मचारी सबै समावेश छन् । पहिले अस्पतालमा सबै तहका कर्मचारीको उपस्थिति र जिम्मेवारी पालनामा कमजोरी देखिने गरेको गुनासो व्यापक थियो ।

विशेषगरी बिहान ९ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने ओपिडी सेवामा चिकित्सकहरू पूरा समय नबस्ने, बीचमैं निजी क्लिनिकमा जाने र अस्पतालको समयमा बाह्य सेवामा व्यस्त हुने गरेका आरोपहरू बारम्बार उठ्ने गरेका थिए । यसले गर्दा ओपिडीमा आउने बिरामीहरू लामो समय लाइनमा बस्न बाध्य हुने, समयमैं उपचार नपाउने र कतिपय अवस्थामा अन्य निजी अस्पताल वा क्लिनिकतर्फ धकेलिनुपर्ने अवस्था थियो ।

तर हाल व्यवस्थापन पक्षले चिकित्सकहरूको उपस्थिति कडाइका साथ निगरानी गर्न थालेपछि ओपिडी सेवा समयमैं सञ्चालन हुने र चिकित्सकहरू पूरा समय अस्पतालमैं रहने व्यवस्था भएको दाबी गरिएको छ । मेसु डा साहका अनुसार, “पहिले चिकित्सक तथा कर्मचारीलाई सेवा दिन बारम्बार अनुरोध गर्नुपर्ने अवस्था थियो, अहिले भने उनीहरू आफैं आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।”

सरसफाइ र आन्तरिक व्यवस्थापनमा सुधार

अस्पतालको सरसफाइ अवस्था पनि विगतमा ठूलो चुनौतीको रूपमा रहेको थियो । वार्ड, ओपिडी, प्रसूति गृह र प्रयोगशाला क्षेत्रसमेत फोहोर र अव्यवस्थित हुने गरेको सेवाग्राहीहरूको गुनासो थियो । सफाइ कर्मचारीहरूको नियमित निगरानी नहुँदा अस्पतालभित्रको वातावरण अस्वस्थकर बनेको आरोप पनि लाग्दै आएको थियो ।

हाल भने शाखा प्रमुखहरूको सक्रियतामा दैनिक हाजिरी प्रणालीलाई कडाइ गरिएको, सफाइ समयको अभिलेख राख्ने व्यवस्था लागू गरिएको र कामको अनुगमन नियमित गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सरसफाइमा उल्लेखनीय सुधार आएको र बिरामी तथा कुरुवाहरूले पनि सकारात्मक अनुभव गर्न थालेका छन् ।

सफाइ कर्मचारीहरूबीच जिम्मेवारी बाँडफाँड स्पष्ट पारिएको, अनुगमन प्रणाली लागू गरिएको र लापरवाही गर्नेहरूलाई कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको बताइएको छ ।

ओपिडी सेवामा सुधार र बिरामीको चाप व्यवस्थापन

ओपिडी सेवा नारायणी अस्पतालको सबैभन्दा व्यस्त र संवेदनशील विभाग हो । यहाँ दैनिक १२ सय बढी बिरामी उपचारका लागि आउने गर्छन् । पहिले चिकित्सकहरूको ढिलाइ, अनुपस्थिति र बीचमैं सेवा छोड्ने प्रवृत्तिका कारण बिरामीहरू घण्टौं लाइनमा बस्न बाध्य हुन्थे ।

तर अहिले ओपिडीमा चिकित्सकहरू समयमैं उपस्थित हुने, बिहान ९ देखि दिउँसो २ बजेसम्म निरन्तर सेवा दिने व्यवस्था कडाइका साथ लागू गरिएको छ । यसले बिरामीको चाप व्यवस्थापनमा सुधार ल्याएको र सेवा छिटो प्राप्त हुने अवस्था बनेको अस्पताल प्रशासनको दाबी छ ।

विशेषगरी गरीब तथा ग्रामीण क्षेत्रबाट आउने बिरामीहरूलाई पहिले सेवा नपाउने, औषधि अभाव हुने र प्रयोगशाला रिपोर्ट ढिलो आउने समस्या थियो । अहिले ती सेवाहरूमा पनि सुधार आएको र रिपोर्ट तथा औषधि वितरण प्रणालीलाई व्यवस्थित गरिएको बताइएको छ ।

प्रसूति गृह र प्रयोगशालामा सुधार

अस्पतालको प्रसूति गृह (मातृत्व सेवा) र प्रयोगशाला सेवामा पनि सुधार देखिएको छ । पहिले प्रसूति सेवामा अत्यधिक चाप, उपकरण अभाव र कर्मचारी अनुपस्थितिका कारण जोखिमपूर्ण अवस्था रहने गरेको बताइन्थ्यो । अहिले भने प्रसूति सेवामा स्टाफ उपस्थिति नियमित गरिएको, आपत्कालीन सेवामा ध्यान दिइएको र बिरामीलाई तत्काल सेवा दिने व्यवस्था सुधारिएको दाबी गरिएको छ ।

त्यसैगरी, प्रयोगशाला सेवामा रिपोर्ट ढिलाइ, उपकरण मर्मत अभाव र जनशक्ति कमी जस्ता समस्याहरूलाई क्रमशः समाधान गर्ने प्रयास भइरहेको छ । अब रिपोर्ट समयमैं उपलब्ध हुने र परीक्षण प्रक्रियामा पारदर्शिता बढेको बताइएको छ ।

अनियमितता र कमिशन प्रथाबारे आरोप

अस्पतालमा विगतमा केही कर्मचारी तथा चिकित्सकले बिरामीलाई निजी अस्पताल वा क्लिनिकमा पठाएर कमिशन लिने गरेका आरोपहरू पनि उठ्दै आएका थिए । यसले सार्वजनिक स्वास्थ्य प्रणालीप्रति जनविश्वास कमजोर बनाएको थियो ।
हाल अस्पताल प्रशासनले यस्ता गतिविधिहरू नियन्त्रण गर्न निगरानी प्रणाली कडाइका साथ लागू गरेको बताइएको छ । बिरामीलाई बाहिर पठाउने प्रक्रिया, रेफरल प्रणाली र उपचार व्यवस्थामा पारदर्शिता ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

सूचना अधिकारीको भनाइ र भविष्यको अपेक्षा

अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार हाल अस्पतालको सेवामा ‘आमूल परिवर्तनको अनुभूति’ सेवाग्राहीहरूले गर्न थालेका छन् । उनका अनुसार यदि यही गति कायम रह्यो भने नारायणी अस्पताल फेरि पनि मधेस प्रदेशकै प्रमुख र भरोसायोग्य सरकारी अस्पतालका रूपमा स्थापित हुने सम्भावना बलियो छ ।

उनले भने–“पहिले यहाँ आउने बिरामीहरूले सेवा नपाउने, औषधि नपाउने, समयमैं रिपोर्ट नपाउने जस्ता समस्या भोग्थे । अहिले ती समस्याहरू क्रमशः समाधान हुँदै गएका छन् ।”

सेवाग्राहीको अपेक्षा

अस्पतालमा सुधारको सङ्केत देखिए पनि सेवाग्राहीहरूले अझै दिगो सुधारको आवश्यकता रहेको बताएका छन् । उनीहरूको भनाइमा अहिले सुधार भएको भएपनि यो निरन्तर हुनुपर्छ र राजनीतिक वा प्रशासनिक परिवर्तनसँगै सेवा पुनः कमजोर हुन नदिन ध्यान दिन आवश्यक छ ।

विशेषगरी गरीब, ग्रामीण र सीमावर्ती क्षेत्रका बिरामीहरूका लागि यो अस्पताल जीवनरेखा भएकाले यसको सेवा गुणस्तरीय, सुलभ र पारदर्शी हुनु अत्यन्त आवश्यक रहेको उनीहरूको धारणा छ । नारायणी अस्पतालमा देखिएको हालको सुधारले सरकारी स्वास्थ्य प्रणालीप्रति केही सकारात्मक सङ्केत देखिन्छ । व्यवस्थापन, अनुशासन, सेवा समय पालन र सरसफाइमा भएको सुधारले अस्पतालको छवि पुनः सुधारतर्फ उन्मुख भएको अनुमान गर्न सकिन्छ ।

तर दीर्घकालीन सुधारका लागि केवल प्रशासनिक कडाइ मात्र पर्याप्त नहुने, कर्मचारीको जिम्मेवारीबोध, स्थायी अनुगमन प्रणाली र पारदर्शी सेवा प्रणाली आवश्यक रहने विशेषज्ञहरूको मत छ ।

यदि हालको सुधार निरन्तर रह्यो भने नारायणी अस्पतलाल फेरि एकपटक मधेस प्रदेशकै प्रमुख र भरोसायोग्य सरकारी स्वास्थ्य संस्थाको रूपमा स्थापित हुने सम्भावना बलियो देखिन्छ ।(यो खबर प्रतिक दैनिकमा प्रकाशीत छ )

Related posts

रिजालको पक्षमा जनलहर बढ्दै , एमाले र जसपाका ५० नेता कार्यकर्ता काँग्रेस प्रवेश

MadhesKhabar

भारतीय बन्दरगाहबाट नेपालका सामान ढुवानी गर्न नेपालकै रेल्वे र्‍याक सञ्चालन गर्न निजी क्षेत्रको सुझाव

MadhesKhabar

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु

MadhesKhabar

Leave a Comment