Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

वीरगन्ज,१२बैशाखःपर्साका सरकारी कार्यालयहरुको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ ।चालु आर्थिक वर्ष २०८१/०८२ मा पर्साका सरकारी कार्यालयहरुका लागि दुई अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् ७६ करोड ६० लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए।“चालु आर्थिक वर्ष सकिन अब तीन महिनाभन्दा कम समय छ”, उनले भने, “संघीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।” उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे।

पर्साका सरकारी कार्यालयका लागि चालु आर्थिक वर्षमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशत अर्थात् ६ अर्ब ८९ करोड खर्च भएको छ ।

पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा १ खर्ब ६१ करोड राजस्व संकलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आर्थिक वर्षको त्यही अवधिमा भने १ खर्ब ५१ करोड राजस्व संकलन गरेका थिए । पर्सामा संघीय सरकार मातहतका करिब ६० भन्दा धेरै कार्यालयहरु रहेका छन् ।

Related posts

सरसफाइमा थप कडा बन्दै वीरगन्ज महानगर,सडकका पाेल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक

MadhesKhabar

मधेसमा कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा : पर्साबाट ४० जनाले गरे हस्ताक्षर

MadhesKhabar

उद्योगीहरुले गरे हदै सम्मकाे लापरवाही : चैती छठमा पनि सफा भएन सिर्सिया नदी

MadhesKhabar

Leave a Comment