
काठमाडौ,१५पुसःभारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले शानदार जित हात पारेकोे छ ।अष्ट्रेलियाको मेलवर्नमा भएको खेलमा अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिनको अन्तिम सेसनमा १५५ रनमै अलआउट भएपछि अष्ट्रेलियाले १८४ रनको जित हात पार्यो । दोश्रो इनिङमा भारतका लागि ओपनर यशश्वी जैसवालले सर्वाधिक ८२ रन बनाए भने रिषभ पन्तले ३० रनमात्रै जोडे ।
बलिङतर्फ दोश्रो इनिङमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोलान्डले ३–३ विकेट लिए भने नेथन लायनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले १–१ विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो भने भारतले ३६९ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले १०५ रनको अग्रताबाट खेल्न सुरू गरी थप २३४ रन जोडेर कुल ३३९ रनको अग्रतासहित भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।
पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो । अब अन्तिम टेस्ट जनवरी ३ देखि हुनेछ ।
टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका छनोट भइसकेको छ । अब भारतको सम्भावना कम भएको छ । भारतले अब एक खेल मात्र खेल्न बाँकी छ भने अस्ट्रेलियाले भारतसँग एक खेल र श्रीलंकासँग दुई खेल खेल्न बाँकी छ ।
वल्र्ड टेस्ट च्याम्पियनसीप २०२३/२५ को फाइनल इंग्ल्याण्डको लड्र्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक–एकपल्ट जितेका छन् ।

