वीरगन्ज,१३पुस: ब्रिटिश सेनालाई गाेर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्साको पर्सागढीमा पुस १९ गते `पर्सागढी २१० ओैं विजय महाेत्सव´ मनाइने भएको छ।नेपाली सेना र पर्सागढी नगरपालिकाकाे सहकार्यमा पर्सागढी मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष झैं यस वर्षपनि पुस १९ गते `पर्सागढी विजय महोत्सव´ मनाउन लागेकाे हाे ।
विक्रम सम्बत् १८७१ पुस १९ गते पर्सागढीमा स्थानीय रंजित चौधरीको कुशल युद्ध निति तथा स्थानीयवासीको सकृयतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झानामा यसपालिपनि `पर्सागढी विजय महोत्सव´को आयोजना गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पर्सागढी नगरपालिकाकोआर्थिक सहयोग, नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले`पर्सागढी २१० औँ विजय महोत्सव´ आयोजना गर्न लागेको हो ।
नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै `पर्सागढी २१० ओैं विजय महोत्सव´ कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुस १९ गते बिहान १० बजे भेला भई विभिन्न झाँकी एंव नेपाली सेनाको टोलीका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै वडा नम्बर ६ स्थित युद्धस्थल पर्सागढी मन्दिर परिसरमा पुगेर विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका मेयर गाकर्ण पाठकले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदि तथा खोला सबै भन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उद्योगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताए ।
पर्सागढी नगरपालिकाका मेयर पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए ।
समितिका अध्यक्ष चाैधरीले अहिले समितिकाे स्वामित्वमा २ कठ्ठा मात्र जग्गा रहेकाे बताए ।उनले पर्सागढी क्षेत्रको थुप्रै जग्गा व्यक्तिको नाममा अतिक्रमण गरिएकाले यस ऐतिहासिक स्थलमा पर्यटकीयस्थलका रुपमा विकास गर्न समस्या भईरहेकाे बताए ।
उनले भने , ‘पूर्वाधार विकासका लागि जग्गा चाहिन्छ, पर्सागढीमा जग्गाको समस्या छ, मन्दिर क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता छ । पर्यटन पूर्वाधार विकासका लागि जमिन कहाँ खोज्न जाने ? पर्सा जिल्लामा एक मात्र गढी छ । यसको आफ्नै किसिमको इतिहास, महत्व र परिचय छ ।´
अध्यक्ष चौधरीले पर्सागढीको त्यो बेलाका युद्धका विषयमा लेखीएका लेख , दस्तावेजहरुमा लेखकले युद्ध सफल बनाउन मुख्य भुमिका खेलेका रञ्जित चौधरीको नाम नै समावेश नगरिएको देख्दा पालिकावासीकै मन खिन्न भएको दुखेसो पोखे। लेख रचना वा दस्तावेजीकरण गर्नुपुर्व अध्ययन अनुसन्धान गर्न उनले आग्रह पनि गरे ।
हाल स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । पर्सागढी नगरपालिकाले धर्मशाला निर्माण गरिदिएको छ । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ ।पर्सागढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।
पर्सागढ्रीको गौरवगाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकासका लागि आ आफ्नो स्थानबाट पहल गरीदिन पत्रकार सम्मेलन मार्फत अध्यक्ष चाैधरीले आग्रह गरे ।
पर्सागढीकाे मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका मेयर पाठक , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एंव पुर्व गाविस अध्यक्ष चौधरी , स्थानीयवासी लगायतकाको सहभागिता रहेको थियो।