वीरगन्ज,२५मंसिर:खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार वीरगन्जस्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै खानेपानी मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले त्यही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिए ।
उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको लक्ष्य भनेको नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो, सरकारको लक्ष्यअनुसार नागरिकप्रति जनमुखी र उत्तरदायी भएर काम गर्न म तपाईहरुलाई निर्देशन दिन्छु ।”
मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिए ।उनले भने, “एक घर, एक धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरि कार्ययोजना तयार गरिरहेको छ ।”
खानेपानी संस्थान वीरगन्ज शाखाअन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीका योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिए ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्का प्रमुख प्रवीनकुमार साहले वीरगन्ज महानगरपालिका भरिमा कुल ११ हजार चार सय ५० खानेपानीका ग्राहक रहेका र उनीहरुलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी गराए । राससे