Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा रवि लामिछानेसंग ४ घण्टा लिइयो बयान,आजपनि पर्सा प्रहरीको हिरासतमा रहने

वीरगन्ज,२५मंसिरःसहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसंग मंगलबार पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयमा झण्डै ४ घण्टा बयान लिइएको छ ।

मंगलबार बिहान ९.१५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई प्रहरीले लगेको थियो ।त्यहाँ सरकारी वकिलको कार्यालयका मुख्य न्याधिवक्ता भोलानाथ निरौलाले लामिछानेसंग झण्डै ४ घण्टा बयान लिएका हुन्।मंगलबार बयानका क्रममा लामिछानेसंग १७ वटा प्रश्न सोधिएको प्रहरी श्रोतले जनाएको छ ।त्यसपछि लामिछानेलाई दिउँसो १.३० बजे सरकारी वकिलको कार्यालयबाट फेरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको छ ।

पर्साको सरकारी वकिलको कार्यालयमा मंगलबार लामिछानेसंग करिब ४ घण्टा बयान लिइएको र अब यसपछि उनिसंग लिखित बयान हुने मुख्य न्याधिवक्ता निरौलालले जानकारी दिए ।

लामिछानेलाई मंगलबारपनि प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा राख्ने र बुधबार मात्रै पोखरा फिर्ता पठाउने जानकारी आँफुहरुले पाएको रास्वपाका जिल्ला संयोजक हरि पन्तले जानकारी गराए ।

सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकमपनि हिनामिना गरेको आरोपमाा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो ।

सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमापनि लगिएको थियो।

वीरगन्जको सानो पाइला सहकारीमा बचतकर्ताले जम्मा गरेकोमध्ये साढे ८ करोड बढी रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि सोमबार साँझ ५ बजेतिर वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याइएका लामिछानेलाई सोमबार रातभर जिल्ला प्रहरी कार्यालयमै राखिएको थियो ।

यस्तै सानो पाइला सहकारी प्रकरणमै अनुसन्धानका लागि सोमबार बिहान वीरगन्ज ल्याइएका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशी र राम बहादुर खनाललाई भने सोमबार नै बयान लिने काम सकाएर मंगलबार बिहान स्थलमार्ग हुदै पोखरा फिर्ता पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब साढे ८ करोड रुपैयाँ गएको थियो ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटकर्वको खातामा सानो पाइलाबाट सात पटक गरी ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।

एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ ।

प्रहरी अनुसन्धानपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भइन् । सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।

 

 

Related posts

समाजवादी प्रेस संगठन पर्साकाे जिल्ला सम्मेलन गर्ने जिम्मेवारी अध्यक्ष पटेललाई

MadhesKhabar

दाइजोमुक्त विवाहको सन्देश निमन्त्रणापत्रमै राख्न उपसभामुख ठाकुरको आग्रह

MadhesKhabar

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment