वीरगन्ज,१८मंसिरःपर्साको सखुवा प्रसौनी गाउँपालिकाले वडा नम्बर १ मा पर्ने जनता सडकबाट शिवधामसम्मको बाटो विस्तार गर्ने भएको छ । त्यसका लागि गाँउपपालिका कार्यालयले सोमबार एक सूचना सार्वजनिक गर्दै त्यस क्षेत्रको बाटोको दाँयाँ बायाँमा पर्ने सार्वजनिक जग्गामा कब्जा गरी निर्माण गरिएका घर,टहरा लगायतका संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
गाँउपालिका अध्यक्ष यशवन्त यादवले जारी गरेको उक्त सूचनामा सूचना जारी भएको मंसिर १७ गतेदेखिको मितिले ७ दिनभित्र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन निर्देशन दिइएको उल्लेख छ । यदि निर्धारित समयभित्र संरचनाहरु नहटाइएमा गाउँपालिकाले आफ्नो नियम र कानुनअनुसार आवश्यक कदम चाल्ने चेतावनीपनि गाँउपालिका अध्यक्ष यादवले सुचना मार्फत नै दिएका छन् ।
बाटो छेउछाउका सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउन यसअघि सम्बन्धित व्याक्तिहरुलाई पटक पटक आग्रह गरिएपनि अटेर गरेकाले सोमबार गाँउपालिकाले लिखित सूचना नै जारी गरेको गाँउपालिका अध्यक्ष यादवले बताए ।सडक विस्तारमा अवरोध पुरयाउने जोसुकै भएपनि कानुन अनुसार कारबाहीको दायरामा ल्याइने र सडक विस्तारको काम सम्पन्न गरेरै छाड्ने गाँउपालिका अध्यक्ष यादवको भनाई छ ।

