बारा,२७चैतःवन्यजन्तु चोरी सिकारी घटनामा मुछिएका मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद जयसवाल, उनका भाई एंव पर्साको सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल र बागमती प्रदेशका प्रदेश सांसद श्यामबहादुर खड्कालाई पर्सा राष्ट्रिय निकुञ्जले सफाई दिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको एकल इजलासले वन्यजन्तु चोरी तस्करीमा मुछिएका पर्सा ३ (क) का प्रदेश सांसदसमेत रहेका शिक्षामन्त्री जयसवाल, उनका भाइ प्रदीप र बागमती प्रदेशका सांसद खड्का लाई सफाइ दिएको हो ।निकुञ्जले उनिहरुलाई सफाई दिने फैसला गत पुस १७ गते गरेको भएपनि अहिले रातोपाटीले समाचार लेखेर सार्वजनिक भएको हो ।
पर्सा निकुञ्जभित्र हातहतियार र बन्दोबस्तीको सामानसहित गाडीको प्रयोग गरेर मध्यरातमा वन्यजन्तुको चोरी सिकारी भएको उक्त मुद्दामा तत्कालीन समयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले समेत अनुसन्धान गरेको थियो ।
२०७९ साल पुस ४ गते मध्यरातमा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट २ लाख ९० हजार ६७० नगद, ल्याण्डक्रुजर र बोलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको गोली राउन्ड १, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामेरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कम्पार्टमेन्ट, टर्च लाइट, मोबाइल फोन ३ थान, मदिरा र अन्य कागजपत्रसहित ५ जनालाई मध्यरातमा नियन्त्रणमा लिएको थियो । त्यसक्रममा निकुञ्जका सेना र वन्यजन्तु सिकारीबिच रातभर दोहोरो झडपसमेत भएको थियो ।
झडपको क्रममा वन्यजन्तु सिकारीहरू भागेर हालका शिक्षामन्त्री एंव प्रदेश सांसद जयसवालको फार्म हाउसमा लुकेका थिए । पछि उनको फार्म हाउसमा तलासी लिने क्रममा मारेर राखेको जरायो, नगद रकम र अन्य बन्दोबस्तीको सामान सहति वन्यजन्तु चोरी सिकारीमा प्रयोग भएको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी समेत नेपाली सेनाले बरामद गरेको थियो ।वन्यजन्तु मार्न प्रयोग भएको हतियार बागमती प्रदेशका प्रदेश सांसद श्यामबहादुर खड्काको नाममा रहेको भेटिएको थियो ।
पहुँचवाला र ठूलालाई उन्मुक्ति दिएको निकुञ्ज प्रशासनले राजनीतिक पहुँच नभएका प्रतिवादीहरूलाई भने कैद र जरिबाना हुने फैसला निकञ्जलेगरेको छ। उक्त घटनामा संलग्न भएका झापस थारू, विशाल सहनी, दामोदर अधिकारी र म्लाङदोङ तामाङलाई ६ महिना कैदसहित ३० हजार रुपैयाँ जरिबाना हुने निकुञ्जको फैसलामा उल्लेख छ।
त्यसैगरी प्रकाश केसी, सुलन मियाँ अन्सारी, भोलाबहादुर पुन मगर, विकास सहनी र उपेन्द्र सहनीलाई ४० हजार जरिबाना हुने फैसला गरिएको छ भने कुमारध्वज लामालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबाना सजाय सुनाइएको छ।
त्यस्तै, उक्त घटनामा संलग्न भई फरार रहेका लक्ष्मण केसी, हिदम लामा, राजकुमार लामा, शैलेस विष्ट, रूपक विष्ट, काइला गोले, धनलाल गोले, गोपाल गोले, पुरुषोत्तम अधिकारी, गणेश प्रसाई, युवराज लामा, कृष्ण गुरुङ, नवीन गुरुङ, राजकुमार लामा, विष्णु दाहाल, विश्व मोकाजु, प्रेमकुमार पाण्डे, शेरबहादुर पुन, देवन्द्र बजगाई, लिलाबहादुर खड्का, क्षितिज देवान, गोपाल श्रेष्ठ, उत्तम राई, नन्दु श्रीवास्तव र दीपक बस्नेतको हकमा पक्राउ परेका बखत कानून बमोजिम फैसला हुने ठहर गरिएको छ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जयसवाल दाजुभाई र प्रदेश सांसद खड्काको हकमा प्रमाण नपुगेकाले सफाइ दिएको बताए ।उनले भने,‘ मिसिलमा जुन अभियोग र दाबी थियो, त्यो दाबी नपुग्नेहरूलाई सफाइ दिइएको हो,’ उनले भने । साभार : रातोपाटीबाट

