Madhes Khabar
खेलकुद हेडलाइन

८ विकेटले विराटनगरलाई पराजित गर्दै जनकपुर बोल्ट्सको शानदार जित


मधेसखबर
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
शनिबार सुरु भएको एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतकको मद्दतले १ सय २८ रनको लक्ष्य दिएको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रन बनाएको थियो।
विराटनगरका ओपनर मार्टिन गप्टिलले एनपीएलको इतिहासमै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए। उनले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए। जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहले उनको महत्वपूर्ण विकेट लिए।
विराटनगरका अकिब इल्यासले १८ बलमा १५ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्। बलियो सुरुवात गरेको विराटनगरले ७६÷२ को स्थितिबाट बाँकी ८ विकेट गुमाउँदै १ सय २७ रनमै समेटियो।
जनकपुरका बलर ललितनारायण राजवंशीले आफ्नो पहिलो बलमै विकेट लिँदै कुल ३ विकेट हात पारे। किशोर महतो र हर्ष ठाकरले समान २–२ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए।
१ सय २८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुर बोल्ट्सले १५.३ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो।
कप्तान अनिल शाह र आशिफ शेखको प्रारम्भिक विकेट गुमाए पनि लहिरु मिलान्थाले ५३ बलमा ७५ रन बनाएर टोलीलाई जित दिलाए। मिलान्थाले १० चौका र २ छक्का प्रहार गर्दै जनकपुरलाई सहज जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
यस खेलमा जनकपुर बोल्ट्सले ८ विकेटको सहज जित सुनिश्चित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ भने विराटनगर किंग्सका लागि सुरुवाती खेलमै पराजयको सामना गर्नुपरेको छ।

 

Related posts

वीरगन्जका शेख दाजुभाइले एकैदिन हाने उत्कृष्ट अर्धशतक

MadhesKhabar

पर्साकाे ओैराहामा ११ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

नेपालमा वैदेशीक सहायतामा आउने बजेट दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त

MadhesKhabar

Leave a Comment