वीरगन्ज,८मंसिर:नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले झापा जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका छन् ।
शनिबार खानेपानी मन्त्री यादवले झापाको मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशनपनि दिए।उनले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तिब्रता ल्याउन जोड दिए ।
त्यस्तै सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसंग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।उनले भने , “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।”
मन्त्री यादवले झापाको मेचीनगरमा चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गरे ।
शनिबार नै मन्त्री यादवले झापामा निर्माण भइरहेको दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गरे ।मन्त्री यादवले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधानका लागि सरकार सक्रिय रहेको र व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारी लिन आफू कटिबद्ध रहेको बताए ।
मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज पानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँग सहकार्यलाई सुदृढ गर्ने धारणा राखे ।

